धरानः मेयर तिलक राईले शैक्षिक, स्वास्थ्य, धार्मिक तथा साँस्कृतिक पर्यटनको रुपमा धरानलाई अगाडि बढाउन सकिने बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धरानका मेयर राईले सुनसरी उद्योग वाणिज्य संघको ५८ औँ वार्षिक उत्सव समारोहमा यस्तो बताएका हुन् । ‘आजभोलि हाम्रो धेरै छोराछोरीहरु धरानकै स्कुल र कलेजहरुमा पढिरहेका छन् । अहिले धरानमा राम्रो स्थिति बनेको छ । तर, एक दशक अगाडिसम्म धेरै भारतको दार्जिलिङ, सिक्किम, देरादुन, काठमाडौँ लगायतका ठाउँहरुमा अध्ययन गर्न जाने परम्परा थियो । अहिले त्यो परम्परा हराउँदै गएको छ । यो एउटा राम्रो पक्ष पनि हो,’ मेयर राईले भने । अबको दिनमा धरानलाई व्यापार व्यवसायले मात्र अगाडि बढाउन नसकिने बताउँदै मेयर राईले धरानमा उद्योग कम रहेको उल्लेख गरे । औद्योगिक क्षेत्र छ तर, फुल फेजमा चल्न सकेको छैन । उद्योग तथा व्यापारव्यवसायको परिभाषा पनि नयाँ ढङ्गले गर्नुपर्नेमा मेयर राईले जोड दिए । ‘धरानको बजारलाई व्यवस्थित गर्दै घरभाडाको विषयमा पनि छलफल तथा नियमन गर्न आवश्यक छ । मूल्यको हिसाबमा पनि हामीले सहजीकरण गर्ने हो भने धरानको बजार त्यस्तो अवस्थामा छैन । किनभने, क्रय शक्तिको हिसाबले धरानमा राम्रो स्थिति छ । त्यसलाई हामीले बुझेर अगाडि बढ्नुपर्छ,’ मेयर राईले भने ।
धरानमा व्यापारी र उपभोक्ता दुवैलाई फाइदा हुनेगरी काम हुन नसकेको मेयर राईको भनाई थियो । मेयर राईले व्यवसायीहरुलाई पसलमा आएका ग्राहकहरुलाई निःशुल्क मास्क बाँड्न पनि आग्रह गरे । उपमहानगरपालिकाले सहकार्य गरेर औषधि पसलहरुसँग छलफल गरेर निःशुल्क मास्क वितरण गर्न आग्रह गर्ने उनले बताए । ‘स्वास्थ्य, शिक्षा, धार्मिक, साँस्कृतिक, खेलकुद, तथा साहसिक पर्यटनलाई नाराको रुपमा हरेक पटक भन्दै आएका छौँ । सुनसरी उद्योग वाणिज्य संघ र स्थानीय सरकारबीच छलफल तथा सहकार्य गरेर अगाडि बढ्नुपर्छ,’ मेयर राईले भने । सुनसरी उद्योग वाणिज्य संघलाई व्यवसायी, उपभोक्ता, जिल्लावासी र नगरवासीको हितमा काम गर्न आग्रह गर्दै मेयर राईले शुभकामना व्यक्त गरे ।
उपमेयर मञ्जु भण्डारीले धरान उपमहानगरपालिका र उद्योग वाणिज्य संघको सहकार्यमा धेरै क्रियाकलापहरु गरिएको बताइन् । आगामी दिनमा उद्योग वाणिज्य संघसँग यस्तै सहकार्य हुँदै जाने उपमेयर भण्डारी उल्लेख गरिन् । कोरोनाका कारण व्यवसाय धरासयी बन्दै गएको अवस्थामा पनि उद्योग वाणिज्य संघले उपमहानगरपालिकालाई गरेको सहयोगप्रति उनले कृतज्ञता व्यक्त गरिन् । वार्षिकोत्सव समारोहका सभापतिसमेत रहेका सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाले वस्तुगत व्यवसायी र उद्योगी व्यवसायीहरु मास्क, सेनिटाइजर, सामाजिक दूरी अनिवार्य पालना गरेर मात्र व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरे । वार्षिकोत्सव समारोहमा सुनसरी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष राजेन्द्र शाह, भूतपूर्व अध्यक्ष गौरीशंकर शाह, सुनसरी उद्योग वाणिज्य संंघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, इलाका प्रशासन कार्यालय धरानका प्रमुख सुवासकुमार लामिछाने, इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर,सशस्त्र प्रहरी बेस क्याम्प प्रमुख कृष्णप्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।