इटहरीः नगरपालिकाको आफ्नै दमकल नहुँदा बजारमै लागेको आगो निभाउन समय लागेको भन्दै रामधुनीका स्थानियवासीले नगरपालिकाको कदमप्रति आक्रोश व्यक्त गरेका छन् । 

रामधुनी नगरपालिका वडा नम्बर ५ स्थित साईराम मार्केटमा शनिबार भएको आगलागीबाट करिब २ करोड रुपैयाँ बराबरको क्षति भएपछि स्थानीय आक्रोशित भएका हुन् । पूर्वपश्चिम राजमार्गमै पर्ने साई मार्केटको म्याजिक सिनेमामा लागेको आगो नियन्त्रण गर्न शनिबार इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, कोशी गाउँपालिका, धरान उपमहानगरपालिका र दुहबी नगरपालिकाका दमकल आएका थिए । विद्युत सट भएर लागेको आगोबाट मार्केटभित्र रहेको संरचनाका साथै सिनेमा हलका पूर्वाधारहरु जलेर नष्ट भएका छन् । आगलागी भएको झण्डै २ घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो । नगरक्षेत्रभित्र, त्यो पनि मुख्य बजारमै लागेको आगोलाई नियन्त्रण गर्न टाढाको दमकललाई आउन समय लाग्दा बढी क्षति भएको र नगरपालिका भएको ६ वर्ष पूरा भइसक्दा पनि एउटा दमकलको लागि बजेट निकासा गर्न नसकेको भन्दै नगरवासीले आक्रोश व्यक्त गरेका छन् ।

झन्डै ६५ हजार जनसंख्या भएको नगरपालिकामा एउटा दमकल अनिवार्य भएको भन्दै स्थानीयहरुले जनप्रतिनिधिसँग आक्रोश पोखेका हुन् । नगरपालिकाका जनप्रतिनिधितर्फ इङ्गित गर्दै स्थानीय सञ्चारकर्मी शिशिर भट्टराई सुनसरी जिल्लाको यति सुगम नगरपालिकामा एउटा दमकल नहुनु र खरिद गर्न नसक्नु दुःखको कुरा भएको बताउँछन् । सामाजिक सञ्जाल फेसबुकमा गुनासो राख्दै भट्टराई दमकलको कुरा गर्नासाथ जनप्रतिनिधिहरु दमकल पाल्न नसकिने भन्दै कुराबाट भाग्ने गरेको बताउँछन् ।नगरपालिकामा दमकल नभएको कुरामा प्रतिक्रिया जनाउँदै नगरपालिकाका पूर्वअधिकृत शङ्कर तिमल्सिनाले वडा नम्बर ५ का वडा अध्यक्षको कारणले अहिलेसम्म नगरपालिकाको आफ्नै दमकल नआएको बताएका छन् । किन र कसरी वडा नम्बर ५ का प्रतिनिधिले दमकल खरिद गर्न दिएनन् त्यो भने तिमल्सिनाले खुलाएका छैनन् । दमकलका लागि धेरै पटक आवाज उठाइएको तर नगरपालिकाले कहिले निर्णय गर्ने र कहिले फिर्ता लिनेजस्ता काम गरेर अहिलेसम्म पनि दमकल खरिद गर्न नसकेको स्थानीय खेमराज पौडेलको भनाइ छ ।

राजश्वमा मनपरि गर्ने तर जनताको सुरक्षाको लागि आवश्यक पर्ने एउटा दमकल ल्याउन नसक्ने जनप्रतिनिधिको मनपरि भएको कतिपयले गुनासो गरेका छन् । जनताले तिरेको राजश्वको उपयोग जनताकै सुरक्षाको लागि हुनुपर्ने सौगात अधिकारीको भनाइ छ । नगरपालिकाको आगो निभाउन गाउँपालिकाको दमकल बोलाउनुपर्दा जनप्रतिनिधिलाई लाज लाग्नुपर्ने अधिकारीको विचार छ । गाउँपालिकाले चाँहि दमकल पाल्न सक्ने तर नगरपालिकाले किन नसक्ने भन्दै सामाजिक सञ्जालमा स्थानीयको आक्रोश व्यापक छ । कति स्थानीयले त नगरपालिकाभित्रका ४६ जना जनप्रतिनिधिको सम्पत्ति नै छानबिन गर्नुपर्ने तर्क अघि सारेका छन् । रामधुनी नगरपालिकाले आवश्यकताभन्दा बढी कर्मचारीलाई करारमा नियुक्ति गरेर सरकारी खर्चको दोहन गरिरहेको समाचार बाहिर आएका थिए । त्यो विषयलाई लिएर केही राजनीतिक पार्टीले विरोध गरेको भएता पनि नगरसभाले सबै कर्मचारीलाई निरन्तरता दिने निर्णय गरिसकेको छ ।