इटहरीः लागूऔषध मुद्दाका फरार प्रतिवादी गाँजासहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका ५ का ६१ वर्षीय राजनारायण भन्ने लवनारायण माझी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार गत भदौ १० गते १ नम्बर प्रदेश प्रहरी कार्यालय रिट समुह र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट लागूऔषध गाँजा ४ केजी ३०० ग्राम र नगद रु. ५० हजारसहित पक्राउ गरेको हो । माझी मोरङ जिल्ला अदालतको मिति २०७५ पुस ५ गतेको फैसलाले लागूऔषध मुद्दामा ६ महिना ५ दिन कैद र तीन हजार रुपैयाँ जरिवाना ठहर भएका फरार प्रतिवादी हुन् । उनलाई इलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषध कसूरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।