इटहरीः भोजपुरको षडानन्द नगरपालिका –९ तालखर्क का ४० वर्षीय बुद्धिमान राईले आफ्नै श्रीमतिको हत्या गरी झुन्डिएर आत्महत्या गरेका छन् ।
आज बिहान १ः३० उनले आफ्नै श्रीमति २८ वर्षीया इन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरी आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लागी झुण्डिएको अवस्थामा फेला परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार घटनास्थलमा आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै ८ वर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए ।
घटनाको बारेमा जानकारी पाएलगत्तै स्थानीयहरुले हेर्दा इन्द्रकला राईको मृत्यु भइसकेको र उनलाई खोजतालस गर्दा झुन्डिएको अवस्थामा फेला परेपश्चात प्रहरीलाई जानकारी गराएका हुन् । घटनास्थालमा इलाका प्रहरी कार्यालय साङपाङ र इलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।