इटहरीः २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट जनताको सर्वाधिक मत प्राप्त गरी सुनसरीको इटहरी उपमहानगरपालिकाको नगरप्रमुख (मेयर) मा द्वारिकलाल चौधरी निर्वाचित भएपछि इटहरीका नदी तथा सडकको क्षेत्राधिकार मिचेर बनेका संरचना हटाउने शंखघोष गरे ।

त्यो समय उनले उपमहानगरपालिकाको वडा नम्बर १५ मा रहेको सिप्रदी ट्रेडिङले खोला मिचेर संरचना बनाएको भन्दै डोजर नै लिएर सो संरचना भत्काउन पुगे । त्यसपछि खै कुन्नी के भयो मेयर चौधरीलाई, भवन भत्काउन लगेको डोजरले नाला सफा गरेर फर्किए । सोही दिनबाट ‘राइट अफ वे र राइट अफ रिभर’ क्लियर गर्ने भन्दै उनी अगाडि बढे । कतिपयले उनले गरेको यो कामलाई ‘डोजर आतंक’ भन्दै टिप्पणीसमेत गरेका छन् । त्यसपछि केही समय शान्त भएका मेयर चैधरीले नेकपा एमालेका पूर्व इटहरी नगर इन्चार्ज तथा इटहरी खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईँलाई ७ दिनभित्र घर भत्काउन भन्दै सूचना जारी गरे । उपमहानगरको ५ नम्बर वडामा रहेको प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)को कार्यालयनजिकै खोला किनारमा चौलागार्इँको घर रहेको छ । मेयर चौधरीले सूचना टाँस गरेर घर भत्काउन लगाए पनि एमालेका एक नेताले मेयर चौधरी र चौलागार्इँलाई एकै ठाउँमा राखेर भद्र सहमति गराएर चौलागार्इँको घरमा मेयरको डोजर पुग्न भ्याएन । त्यसो त यसअघि आफूले चौलागार्इँलाई पार्टीको एक कार्यक्रममा झापड हानेको भन्दै अभिव्यक्ति दिएका थिए मेयर चौधरीले ।

यी संरचनाहरु नभत्काइएको विषयमा ‘धेरै मुद्दाहरु मूल्तविमा थिए, ति मुद्दाहरुको अन्तिम फैसला हुँदैछ, तपार्इँको संरचना भत्काउने ठहर छ, तपाईँलाई यति जरिवाना हुन्छ’ भन्ने फैसला आउने विश्वास मेयर चौधरीले व्यक्त गरेका छन् । त्यसपछि आफूले ति संरचना भत्काउने उनी बताउँछन् । अदालतको फैसलमा चित्त नबुझे पुनरावेदन जानू भनेर उपमहानगरले सूचना गर्ने उनको भनाइ छ । ‘किन खोला, पैनि बेच्नु भयो ?, किन बाटो मिच्नुभयो ?’ भनेर आफूले प्रश्न गर्दा ‘मिचे त’ भन्ने प्रतिक्रिया आएकाले आफू ‘एक्सन’ मा उत्रिएको उनको भनाइ छ । उनले यो कामलाई यतिमा मात्रै सीमित राखेनन् । त्यसपछि उनले रोयल रिसोर्ट र डीभीएम स्कुलमा समेत डोजर लगेका थिए । डीभीएम स्कुलमा विद्यार्थी पढीरहेको अवस्थामा सो स्कुलको त उनले प्रवेशद्वार (गेट) मा नै डोजर चलाएका थिए । त्यसपछि शान्त बनेका मेयर चौधरी ६ लेन सडक परियोजन निर्माण गर्दा सडकको क्षेत्रभित्र पर्ने घर नभत्काएको भन्दै आफैँ डोजर लिएर भत्काउन पुगे । त्यसपछि उनी खासै डोजर लिएर हिँडेनन् । गत साउन २६ गतेबाट मेयर चौधरी पुनः डोजर लिएर हिँड्न थाले । साउन २६ गते उनले उपमहानगरको खनार चौकबाट पश्चिममा निर्माण हुँदै गरेको एक रिसोर्टको निर्माणाधीन कम्पाउन्ड वाल नै भत्काइदिए । त्यसको केही दिनपछि नेपाली कांग्रेसका नेतासमेत रहेका व्यवसायी रोहित प्रसाईँले नाली मिचेर प्लटिङ गरेको र त्यसमा नाप जाँच गर्ने भन्दै सामाजिक सञ्जालमा मेयर चौधरीले पोस्ट गरे ।

उनले भनेको मितिमा रोहित प्रसार्इँसहित केही मानिस सो प्लटिङमा पुगे तर मेयर चौधरी आएनन् । आफू मेयरको कुर्सीमा बसेको अन्तिम दिनसम्म पनि नदी तथा सडकको क्षेत्राधिकार क्लियर गर्न लागिपर्ने मेयर चौधरीको दाबी छ । तर, उनको भनाइ र गराइ हेर्ने हो भने आकाश जमिनको फरक छ । हामीले माथि उल्लेख गरेका संरचना मात्र होइन, अन्य संरचना पनि भत्काउने प्रतिक्रिया उनी बेलाबेलामा दिन्छन् । तर, अहिलेसम्म उनले भनेका एउटा पनि संरचनामा डोजर चाउन नसक्नुले उनी बोलीमा मात्र सीमित हुने र चर्चाका लागि मात्र अगाडि आउने गरेको पुष्टि हुन्छ । मेयरज्यू अब यी संरचनामा कहिले डोजर चल्छ ? यो सर्वत्र चासोको प्रश्न हो । हामीले माथि उल्लेख गरेका संरचना मात्र होइन, उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले सामाजिक सञ्जालमा पोस्ट गरेर खोलाको क्षेत्राधिकार मिचिएको भनिएको इपी ल्याण्ड फन पार्क, सामाजिक सञ्जालमा चर्चामा आएको उपमहानगरको ५ नम्बर वडामा रहेको सिमरवना बचत तथा ऋण सहकारी संस्था, नेकपा एमालेको पार्टी कार्यालयको भवन, नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य सर्वध्वज साँवाले सञ्चालन गरेको हाम्रो बोर्डिङ स्कुल, इत्यादि पनि सार्वजनिक जग्गामा बनेका छन् ।

नेपाली सेनाको इटहरी स्थित कार्यालय अगाडीबाट खोला पैनी मिचेर बनेका संरचना हटाउने अभियान थालेका मेयरले हाम्रो बोर्डिङ स्कुल पुगेपछि अभियानै रोकियो । उनले त्यसपछि इटहरीको बुढीखोलाबाट शुरु गरेको उनको अभियान आइ सिनेमा आएर उ बेला रोकिएको थियो । अनि यो ठाउँमा चाहिँ ‘राइट अफ वे, राइट अफ रिभर’ कहिलेसम्म निक्र्योल हुन्छ मेयरज्यू ? भनेर आम इटहरीवासीले यतिबेला पुनः प्रश्न गरिरहेका छन् । यति मात्र होइन, इटहरी उपमहानगरपालिकाको गेटैमा उपमहानगरको स्वीकृति नलिई नक्सा पाससमेत नगरी बनेको बहुउद्देश्यीय सहकारी संस्थाको भवन तत्काल खाली गर्न पत्राचार गरिएकोमा त्यसउपर हालसम्म कुनै कारबाही नै भएको छैन । यसले पनि मेयर चौधरीको प्रचारमुखी कार्यशैली प्रष्ट हुन्छ ।

इटहरी २ शनिमन्दिर नजिकै एक स्थानीयले ऐलानी जग्गामा घर निर्माण गरेका छन् । घर निर्माण गरी ती व्यक्तिले उपमहानगरबाट घर नक्सा पास गरि प्रमाणपत्र समेत लिइसकेका छन् । सो घर निर्माणपछि नक्सापास गराउनमा वडा कार्यालय र प्राविधिक कर्मचारीहरुको संलग्नता रहेको पाइएको छ । यो विषय मेयर चौधरीलाई जानकारी भएपनि मौन बसेको श्रोतको भनाइ छ ।