इटहरीः अनलाइन शिक्षाको नाममा सुनसरीको इटहरीमा सञ्चालनमा रहेका विद्यालयहरुले मनोमानी रुपमा शुल्क असुल गर्न थालेपछि अभिभावकहरु आजित बनेका छन् ।
इटहरीका विद्यालयहरुले अनलाइन कक्षा सञ्चालनका नाममा मनपरि शुल्क असुल गर्ने गरेको अभिभावकले गुनासो गरेका हुन् । नेपालमा कोरोना भाइरसको दोश्रो लहर फैलिएको भन्दै गत वैशाखबाट नै नयाँ शैक्षिक सत्रको कक्षाहरु भौतिक उपस्थितिको विकल्पमा अनलाइनबाट हुँदै आएका थिए । अनलाइन कक्षाको प्रभावकारिता र खर्च भौतिक कक्षाको भन्दा कम हुने तर विद्यालयहरुले शुल्क भने पहिलेको झैँ लिने गरको अभिभावकहरु बताउँछन् । कक्षा नै प्रभावकारी नभएपछि कसरी शुल्क तिर्ने ? भन्दै अभिभावकहरु अहिले विद्यालयप्रति रुष्ट भएका छन् । अनलाइन कक्षाबाहेक अन्य केही क्रियाकलाप नभए पनि विद्यालयहरुले विभिन्न बहाना बनाउँदै अतिरिक्त शुल्क लिएको भन्दै अभिभावकहरु आजित बनेका छन् । ‘सरकारले असारदेखि मात्र शैक्षिक सत्र सुरु गर्न भने पनि कतिपय विद्यालयले वैशाखदेखि नै कक्षा सञ्चालन गरेको नाममा मनपरि पैसा उठाउँदै आएका छन्’, इटहरीका एक अभिभावकले भने, ‘यो गतल हो । सम्बन्धित निकायले यसमा ध्यान दिनुपर्यो ।’
तीन जना छोराछोरीलाई अनलाइन कक्षामा समावेस गर्दै आएकी इटहरी १ हलगडाकी राधा कार्कीको पनि गुनासो उस्तै छ । ‘तीन जनाको कक्षा एकैचोटी हुन्छ । सबैलाई फोन चाहिने भयो’, उनले भनिन्, ‘घरमा एउटा मात्र फोन छ । त्यसैले सँधै कक्षा लिन पनि पाउँदैनन् । फोन किनेर साध्ये पनि छैन । यो एकदम खर्चिलो भयो ।’ अनलाइन कक्षामा छोराछोरी पढाउने अन्य अभिभावको गुनासो पनि उस्तै छ । अनलाइन कक्षा प्रभावकारी भए पनि यो धेरैको खर्चिलो हुने हुँदा धेरैको पहुँचभन्दा बाहिर रहेको छ । अनलाइन कक्षाका लागि एउटा स्मार्ट फोन अनिर्वाय हुन्छ । यस्तै, इन्टरनेटको उपलब्धता पनि आवश्यक छ । इटहरी उपमहानगरको तथ्याङ्क अनुसार हाल उपमहानगरमा २ सय २१ वटा सरकारी तथा संस्थागत विद्यालयहरु सञ्चालनमा रहेका छन् ।
अनलाइन कक्षा सञ्चालन गर्ने विद्यालय भने १८ मात्र रहेका छन् । तिनै विद्यालयहरुले पनि हाल दोब्बरसम्म शुल्क असुल गर्ने गरेको गुनासो आउन थालेको उपमहानगरका शिक्षा महाशाखाका कर्मचारीहरु बताउँछन् । यस विषयमा उपमहानगरमा छलफल गरेर त्यस्ता विद्यालयको हकमा के गर्ने भन्ने बारेमा ठोस निणर्य लिने महाशाखाका अधिकृत फाल्गुनी प्रसाद काफ्लेले जानकारी दिए । ‘शुल्कको सन्दर्भमा सँस्थागत विद्यालयले शुल्क बढी लिएको भनेर हामी कहाँ गुनासो आएको छ’, अधिकृत काफ्लेले भने, ‘त्यसलाई सम्बोधन गर्न हामीले नगर शिक्षा समितिको बैठक राखेर त्यो मिटिङबाट व्यवस्थापन गर्ने भनेर सोच बनाएका छौँ ।’ यस्तै कक्षा सञ्चालन नभएका विद्यालयमा पनि कक्षा सञ्चालनका लागि पहल थालिले उनले बताए ।