इटहरीः धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर घिसिङको कार्यकक्षभित्र मदिरा सेवन गरेको आरोपमा तीन जनालाई सोही कार्यालयमा थुनिएको छ ।

स्थानीयहरुद्वारा वडाध्यक्षको कार्यकक्षमा थुनिनेहरुमा नेकपा (एमाले) धनकुटा जिल्ला सदस्य भोजबहादुर विश्वकर्मा र स्थानीय विद्यालयका दुई जना शिक्षक रहेको गाउँपालिका कार्यालय स्रोतले जनाएको छ । मदिरा सेवन गर्नेलाई थुन्न पुगेका स्थानीय मेघराज खतिवडाका अनुसार वडाध्यक्षको कार्यकक्षमा मदिरा र मासु खाइरहेका चार जनामध्ये नेकपा एमाले धनकुटा जिल्ला कमिटि सदस्य हरि ओझा फुत्किएर भागेका थिए । ‘हामीले वडाध्यक्षको कार्यकक्षमा चारजना बसेर मदिरा सेवन गरिरहेको भेट्टायौं‚’ खतिवडाले भने, ‘थुन्न खोज्दाखोज्दै एमाले जिल्ला कमिटी सदस्य हरि ओझा भागे, एमालेकै जिल्ला सदस्य भोजबहादुर विश्वकर्मा र अन्य दुई शिक्षकलाई थुन्यौँ ।’

हिजो साँझ थुनिएका उनीहरुलाई गाउँपालिकाकै कार्यालयमा आज छलफल गराउने गरी छोडिएको उनले बताए । वडाध्यक्ष घिसिङले भने कार्यालयमा कसैले पनि मदिरा सेवन नगरेको दाबी गरेका छन् । उनका अनुसार विद्यालयको कामका लागि भेला भएका उनीहरुले चिसो पेय पदार्थ र खाजा नास्ता मात्र खाएकोमा स्थानीयले थुनेको उनको जिकीर छ । घटनाबारे छलफलका लागि दुवै पक्षलाई बोलाइएको बताउँदै गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले थुनिने पक्षले विद्यालयको कामले गएको र थुन्ने पक्षले मदिरा सेवन गरेको पाइएपछि थुन्नु परेको आ आफ्नै तर्क गरेको जानकारी दिएका छन् ।