इटहरीः खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडे का ३३ वर्षीय गिरिराज थापाको हत्यामा संलग्न रहेका उनकै भाइ २२ वर्षीय नारायण थापा र भतिजा १५ वर्षीय रुपन थापा पक्राउ परेका छन् । 

गत भदौ ९ गते दिउँसो ११ बजे घरबाट हिँडेका गिरिराज घर फर्किएर नआएपछि खोजतलास गर्ने क्रममा हिजो १० गते बिहान १ः४५ बजे घरबाट अन्दाजी २०० मिटर पर बारीमा मृत अवस्थामा फेला परेपश्चात् स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटी गई हत्या गरेको हुन सक्ने आशंकामा गहन रुपमा अनुसन्धान थालेको थियो । घटनाको प्रकृति, स्थानीयवासीको सोधपुछ तथा अनुसन्धानबाट प्रहरीले हिजै मृतकका भाइ नारायण र भतिजा रुपनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुले घरयासी विवादका कारण भैँसी बाँध्ने प्लाष्टिकको डोरीले घाँटीमा कसी हत्या गरेको भनी प्रारम्भिक अनुसन्धानमा खुलाई दिएपश्चात कर्तव्य ज्यान मुद्दामा कारबाही अगाडि बढाई घटनाको थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।