इटहरीः प्रदेश १ मा चल्ने सवारी साधनको हकमा प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको भाडा वृद्धिको विषयमा यात्रु र सवारीधनी दुवैको गुसानो बढेको छ ।
मन्त्रालयले २०७५ साल असोज ७ गते कायम गरेको भाडादरमा हेरफेर गरेपछि दुवै पक्षमा गुनासो बढेको हो । मन्त्रालयले पछिल्लो समय गत भदौ १ गतेबाट प्रदेश १ भित्र आन्तरिक रुपमा सञ्चालन हुने यातायातका साधनको भाडा वृद्धि गरेको हो । मन्त्रालयले साविकको भाडादरभन्दा यात्रुवाहक सवारी साधनको भाडादर २२ प्रतिशतले पहाडको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १६ दशमलव ५ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २३ प्रतिशतले भाडादर वृद्धि गरेको हो । यसरी भाडा वृद्धि भएलगत्तै सवारीधनीहरुले मनपरि रुपमा भाडा असुल गर्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । विराटचौकबाट कञ्चनबारी हिँडेका एक यात्रुले भने, ‘पैसा लिन्छ बढी । २२ प्रतिशत बढेको त हामी तिर्न तयारी छौँ । तर अहिलेचाहिँ अति नै बढेको छ ।’ उनको जस्तै अन्य यात्रुहरुको पनि गुनासो रहेको छ । ‘एउटा आधिकारिक रुपमा भाडा बढाउनु पर्यो नि त ! एकै ठाउँको भाडामा कुनै गाडीले ५० लिन्छ कुनैले ६० लिन्छ’, अर्का एक यात्रुले भने, ‘यसरी त हामी मारमा परिगइयो नि ।’
यसरी भएको मनोमानीको विषयमा नियामक निकायले नियमन गनुपर्ने यात्रुहरुले माग गरेका छन् । यता, व्यवसायी पनि सरकारले गरेको भाडादरको वृद्धिमा सन्तुष्ट देखिएका छैनन् । उनीहरुले संघिय सरकारको तुलनामा प्रदेश सरकारले कम दरमा भाडा वृद्धि गरेको भन्दै असन्तुष्टि प्रकट गरेका हुन् । ‘केन्द्र सरकारले २८ प्रतिशत वृद्धि गर्यो यात्रुवाहक सवारीमा । यो त अन्तर प्रदेशमा सञ्चालन हुने सवारी साधनको भाडादर भयो’, सार्वजनिक यातायात व्यवसायी महासंघ नेपाल प्रदेश १ का महासचिव रमेश खत्रीले भने, ‘यहाँ पनि हामीले सोही दरमा भाडा वृद्धि गर्न माग गरेका थियौँ । यो भाडादर हचुवाको भरमा आयो ।’ उनले वैज्ञानिक दररेटमा भाडादर वृद्धि गर्नुपर्ने माग गरेका छन् । उनले ४० प्रतिशतले भाडादर वृद्धि गर्नुपर्ने माग गरेका छन् । अहिलेको भाडादर व्यवसायीलाई चित्त नबुझेकाले प्रदेश सरकारसमक्ष डेलिगेसन जाने उनले बताएका छन् ।