इटहरीः नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता भीमप्रसाद आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका छन् ।

नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरी सपथ ग्रहण गराएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । विराटनगरस्थित होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकबाट आजै संसदीय दलको नेताका रुपमा चुनिएका आचार्य आजै मुख्यमन्त्री बनेका हुन् । निवर्तमान मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएपछि उनी मुख्यमन्त्री बनेका हुन् । सुनसरीको इनरुवास्थित बलाहा निवासी आचार्य संघीय सरकारको पर्यटन मन्त्रीसमेत बनेका थिए । उनी चार वर्षअघिको प्रदेशसभा निर्वाचनमा सुनसरीको क्षेत्र नम्बर १ बाट प्रदेश सांसदमा निर्वाचित भएका थिए । नवनियुक्त मुख्यमन्त्री आचार्य नेकपा एमालेका संघीय सचिव हुन् ।

240402282_173458354872761_5848704782878427768_n

उनी यसअघि उनले मुख्यमन्त्री बन्नका लागि दुई पटकसम्म गरेको प्रयास असफल भएको थियो । सो बेला उनी नेकपा एमालेको तत्कालीन असन्तुष्ट पक्ष माधव नेपाल समूहमा आबद्ध थिए । माधव नेपाल समूहले नयाँ पार्टी खोल्ने निश्चित भएसँगै उनलाई नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को मुख्यमन्त्री बनाउने प्रतिबद्धता जनाएपछि उनले माधव नेपाल समूह परित्याग गरी ओलीतर्फ लागेका थिए । प्रदेश तथा स्थानीय तहको निर्वाचनताका टिकट वितरणमा मोटो रकम लिएर टिकट वितरण गरेको अडियो सार्वजनिक भएपछि आचार्य विवादितसमेत बनेका थिए । संघीय सरकारको पर्यटन मन्त्री हुँदा विभिन्न विवादमा मुछिएका उनी पछिल्लो समय उड्ययन व्यवसायी तथा ओलीका विश्वासपात्र रामेश्वर थापा र यति समूहका सञ्चालक स्व.आङछिरिङ शेर्पासँग विवादमा परेपछि केपी शर्मा ओलीकै दबाबमा उनी पर्यटन मन्त्रीबाट राजीनमा दिन बाध्य भएका थिए । सत्ता र शक्तिका लागि जे पनि गर्न तयार हुने नेताका रुपमा कार्यकर्ताबीच आलोचित भइरहने मुख्यमन्त्री आचार्य एमाले विवाद समाधान गर्नका निम्ति बनेको कार्यदलका सदस्यसमेत बनेका थिए ।

कार्यदलमा रहेर पार्टीलाई एकढिक्का बनाएर फुट्नबाट जोगाउन आफू लागिपरेको बताउने उनीसहित माधवपक्षीय १० जनाभन्दा बढी नेताहरु ओलीतर्फ नै ढल्किएका थिए । माधव समूहले नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको भोलिपल्टै नेकपा एमालेका अध्यक्ष ओलीले डाकेको केन्द्रीय समितिको बैठकमा मुख्यमन्त्री आचार्यसहित १० नेताहरु सहभागी भएका थिए । सो बैठकले यसअघि पार्टी एकताका लागि कार्यदलले बनाएको १० बुँदे सहमतिपत्र कार्यान्वयन गर्ने विषयमा अध्यक्ष ओलीले सहमति जनाएपछि पार्टी एकताको घोषणा गरिएको थियो । सो घोषणा कार्यक्रममा माधव पक्षको साथ छोड्ने मुख्यमन्त्री आचार्यसहित नेताहरु योगेश भट्टराई, रघुजी पन्त, घनश्याम भुसाल लगायतका नेताहरु सहभागी भएका थिए ।

237823494_2991388237803539_7906972036576928043_n