विराटनगरः नेकपा (एमाले) १ नम्बर प्रदेश संसदीय दलको बैठक आज बिहान ११ बजे बस्दै छ । विराटनगरस्थित प्रदेशसभा सचिवालयमा दलको बैठक बोलाइएको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बैठक बोलाइएको जानकारी दिए । उनले भने, “बदलिएको राजनीतिक परिवेशकै विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।” दल विभाजनपछि पहिलोपटक दलको बैठक बस्न लागेको हो । तर, को सांसद कुन दलतिर जाने भन्ने निर्क्योल भइसकेको छैन । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)तर्फ जाने सांसदहरूको टुंगो समेत लागिनसकेको अवस्थामा दलको बैठक बोलाइएको हो । एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राई पार्टीको केन्द्रीय कमिटीको बैठकमा भाग लिन काठमाडौंमै रहेको र केही बेरमै विराटनगर आएपछि बैठक सुरु हुने राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । उनले भने, “दलको नेता काठमाडौंमा हुनुहुन्छ, विराटनगर आइपुग्नासाथ बैठक सुरु हुनेछ ।”

सांसद उपेन्द्र घिमिरेले आफूलाई बिहीबारको बैठकमा सहभागी हुन निमन्त्रणा आएको बताउँदै भने, “म विराटनगरबाहिर घरमा रहेको जनाउ दिएको छु । बैठकमा आउन नसक्ने जानकारी गराएको छु ।” एमाले विभाजन भएपछि निर्वाचन आयोगमा नेता तथा सांसदलाई दल रोज्न २१ दिनको समय उपलब्ध गराइएको छ । तर, त्यसअगावै १ नम्बर प्रदेशमा दलको बैठक बोलाएर सरकारको नेतृत्व फेर्न खोजिएको नेपालपक्षीय सांसदको आशंका छ । दलको बैठकमा मुख्यमन्त्री राईले राजीनामा दिने र भीम आचार्यलाई दलको नेता चुन्ने तयारी गरिएको बताइए पनि एमालेले यसलाई पुष्टि गरेको छैन ।

मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेर समाजवादीतर्फ नेपाल पक्षका सांसदलाई जानबाट रोक्न प्रयास गर्न खोजिए पनि आचार्य नै मुख्यमन्त्री बने पनि एक महिनाभन्दा लामो समय जान नसक्ने सांसद घिमिरेले बताए । “आचार्यलाई पहिले हामीले समर्थन गरेर संसदीय दलको नेतामा उठाएकै हो, तर जित्न सक्नु भएन,” घिमिरेले भने, “फेरि उठ्ने भन्ने सुनिएको छ । एक महिनाको लागि मुख्यमन्त्री किन बन्न खोज्नुभएको होला भन्ने लाग्दै छ ।” आचार्यले मुख्यमन्त्रीको शपथ लिए पनि एक महिनापछि विश्वासको मत लिन कठिन हुने आफूहरूको बुझाइ रहेको घिमिरेले बताए ।

प्रदेश–१ को प्रदेशसभा ९३ सदस्यीय हो । एमाले एक्लैको बहुमत छ । एमालेका ५१ सांसद छन् । समाजवादीमा जानेहरूको संख्या यकिन भइसकेको छैन । नेपाली कांग्रेसका २१, जसपाका तीन, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक÷एक सांसद छन् । -बाह्रखरीबाट