इटहरीः झापाको भद्रपुर नगरपालिका–९ स्थित भित्री पक्की सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक गर्भवति महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २३ वर्षीया दीक्षा चौलागाईं (प्रसाईं) रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार गएराति ८ः४५ बजे बा २७ प ६४२२ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी दीक्षालाई उपचारार्थ ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा त्यहाँ उपचार हुन नसकेपछि लाइफलाइन अस्पताल दमक पुर्याई उपचार सुरु गरिएको थियो ।

उपचारका क्रममा उनको आज बिहान २ः३० बजे ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटना गराउने मोटरसाइकलका चालक भद्रपुर–९ का ३३ वर्षीय मनप्रसाद तिवारीलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ । सवारी चालक अनुमतिपत्र नभएका चालकले तिव्र गतिमा मोटरसाइकल चलाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।