इटहरीः मोरङको विराटनगर महानगरपालिका क्षेत्रका अस्पतालहरुमा गई सो अस्पतालमा राम्रो उपचार नहुने बताई आफ्नो साँठगाँठ रहेका अस्पतालमा बिरामी सप्लाई गर्ने १० जना बिचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पक्राउ पर्नेमा सुनसरी दुहवी ६ बस्ने वर्ष ५४ का श्रीराम चौधरी, सिरहा–२ बस्ने वर्ष २० का सूर्यनारायण यादव, मोरङ कटहरी गाउँपालिका वडा नं.–३ बस्ने वर्ष ४२ का मो. जलिद, मोरङ विराटनगर महानगरपालिका वडा नं.–७ बस्ने वर्ष १८ कन विश्वास मण्डल, वडा नम्बर १४ बस्ने वर्ष २३ का रोशन गुप्ता, वडा नम्बर ४ बस्ने वर्ष १९ का सुजित यादव, वडा नम्बर ५ बस्ने वर्ष २२ का फिरोज रोय, वडा नम्बर ५ बस्ने वर्ष २१ का समिर खान, वर्ष १८ का सरोज खान र वडा नम्बर ३ बस्ने वर्ष १८ का अमित यादव रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टालीले उनीहरुमध्ये सात जनालाई नोबेल अस्पतालअगाडि र तीन जनालाई कोसी अस्पतालअगाडिबाट गएराति पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहरुले अस्पतालमा कोरोना संक्रमितको संख्या बढी रहेको, उपचार तथा औषधिको राम्रो प्रबन्ध नरहेको जस्ता दोष देखाई आफूलाई कमिसन दिने अस्पतालमा भर्ना गराउने गरेको भन्दै एसपी राईले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी उनीहरुउपर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।