इटहरीः मोरङको विराटनगर महानगरपालिका १२ स्थित भारतीय सीमावर्ति क्षेत्रमा पर्ने बखरीबाट प्रहरीले प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर–१७ का ३० वर्षीय मोहमद अम्जाद अली रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार अभियुक्तका साथबाट प्रहरीले दुई लाख ६९ हजार दुई सय २२ मूल्य बराबरको प्रतिबन्धित औषधि बरामद गरेको छ । प्रहरीले एक लाख २९ हजार मूल्यबराबरको सात कार्टुन एन–बाइमेलक्स, ८३ हजार पाँच सय मूल्य बराबरको पाँच कार्टुन एफफिकेक्स र ५६ हजार ६ सय मूल्यबराबरको एक कार्टुन माइक्रोसट नामक औषधि बरामद गरेको हो ।
पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि औषधि व्यवस्था विभाग विराटनगरमा बुझाइएको एसपी राईले जानकारी दिए ।