सप्तरीः छ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका सप्तरीको सप्तकोसी नगरपालिकाका एक युवा एसइईमा उत्तीर्ण भएपछि छानबिन सुरु भएको छ ।
सप्तकोसी नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय भगनी मलेठले २०७७ सालको एसइई उत्तीर्ण गराएका विषयमा छानबिन सुरु भएको छ । छ वर्षदेखि मलेसियामा कार्यरत गोपाल सन्तलाई अङ्क थपेर २.७५ जिपिए ल्याई एसइई पास गराएका विषयमा छानबिन सुरु भएको छ । उक्त विद्यालयले वैदेशिक रोजगारीमा रहेको युवालाई एसइई पास गराएका विषयमा समाचार सार्वजनिक भएपछि विद्यालयमाथि छानबिन सुरु गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख विजय मण्डलले जानकारी दिए । उनले भने, ‘एसइई पास गराउने विद्यालयबाट सबै विवरण माग गरी सम्पूर्ण कागज झिकाइसकिएको र विवरणमा के त्रुटि भएको छ हेरेर शिक्षा नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ ।’
विद्यालयका प्राध्यापक श्यामकान्त चौधरीले प्राविधिक गडबडीका कारण विदेशमा भएको युवा पास हुन भएको बताए । उनले विद्यार्थीको भौतिक उपस्थितिबिना अङ्क दिनुपरेको तथा अनुपस्थित लेखिनुपर्नेहरूमा नम्बर चढ्न गएर ती विद्यार्थी पास भएको प्रतिक्रिया दिए । कम्प्युटरमा नम्बर चढाउने समय गल्तीले नम्बर चढ्न गएको विद्यालयले जनाएको छ । सप्तकोसी नगरपालिकाका प्रमुख उत्तमकुमार गौतमले विद्यालयलाई पत्राचार गरिए पनि मागबमोजिम कागज अहिलेसम्म उपलब्ध नगराएको बताए । नगरपालिकाले समेत छानबिन गरी दोषी ठहरिए कानुनबमोजिम कारबाही गरिने उनले बताए ।
गोपालका पिता राम सन्त सोही विद्यालयको कार्यालय सहयोगी रहेको हुनाले प्रधानाध्यापक चौधरीलाई प्रभावमा पारी परीक्षा फारम भरेको हुन सकिने आशङ्का गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ सालमा विद्यार्थीको परीक्षाको अन्तिम मूल्याङ्कन गर्न सम्बन्धित विद्यालयका प्रधानाध्यापक रहने गरी तीन सदस्यीय समिति गठन गर्ने व्यवस्था छ । कोरोना महामारीको फाइदा उठाउँदै प्रधानाध्यापकसहितका मिलेमतोमा अधिकांश विद्यालयले एसइईको नतिजामा अनियमितता गरेको स्थानीयको आरोप छ । -रासस