इटहरीः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो विदेश भ्रमणको बचाउ गर्दै आफू रहरले विदेश नगएको बताएका छन् । विदेश भ्रमण कुनै रहर र सौख नभएर बाध्यता भएको उनको भनाइ छ ।

आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अमेरिका भ्रमणको विषयमा प्रष्ट पारेका हुन् । आफूले लामो समयदेखि घाँटीको समस्या झेल्दै आएको र नेपालमा त्यसको उपचार असम्भव भएपछि विदेश जानु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राईको विदेश भ्रमणको तीव्र आलोचना भइरहेको बेलामा उनले विज्ञप्ति जारी गरेका हुन् । उनले आफ्नो स्वास्थ्य अवस्था र उपचारको बारेमा सामाजिक सञ्जाल, निहित स्वार्थ बोकेका डिजिटल मिडिया र केही छापा माध्यमबाट गरिएका दुष्प्रचारबारे आफूलाई राम्रोसँग थाहा भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘यसमा मेरोे गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता आधारहीन र भ्रामक प्रचारबाजीबाट प्रभावित नहुन म सबैलाई हार्दिक आग्रह गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन् ।

आफूले उपचार तथा निजी भ्रमणको सम्बन्धमा मिति २०७५ कात्तिक ११ गते बसेको प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकबाट निर्णय गराएको उनले उल्लेख गरेका छन् । सोही निर्णयबमोजिम सङ्घीय सरकारलाई जानकारी गराएर कात्तिक १६ गते बैंककमा उपचार गराएर त्यसपछि अमेरिका गएको उनले जानकारी गराएका छन् ।

‘थाइल्याण्डको राजधानी बैंककस्थित बुम्रुनग्राड अस्पतालमा उपचार हुँदा कुनै गम्भीर प्रकृतिको समस्या देखिएको छैन,’ उनले भनेका छन्, ‘चिकित्सकहरूको सल्लाह बमोजिम ६ महिना औषधि सेवन गर्नुपर्ने र नियमित फिजियोथेरापीबाटै समस्याको समाधान हुने भएको छ ।’ आगामी बैशाख ६ गते पुनः जाँचको लागि बोलाइएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘प्रक्रिया पुर्याएरै विदेश गएको हुँ’
आफू प्रदेश सरकारको प्रमुख भएको नाताले निजी काम र भ्रमणमा जाँदा वा औपचारिक भ्रमणमा जाँदा अपनाउनुपर्ने प्रक्रिया र लिनुपर्ने निर्णय, अनुमति वा जानकारीको सम्बन्धमा अवगत भएको उनको भनाइ छ । आफूले विचार पुर्याएर नै भ्रमण गरेको उनको भनाइ छ ।

‘उपचारको अन्तिम रिर्पोट नोभेम्बर १२ अर्थात कात्तिक २६ मा मात्र प्राप्त हुने भएको हुँदा पूर्व निर्णयअनुसार उक्त बाँकी अवधिको लागि अमेरिका गएको हुँ’, विज्ञप्तिमा उनी भन्छन्, ‘प्रक्रिया पूरा गरेर प्रेसलाई समेत जानकारी गराई म अमेरिका गएको कुरा राख्न चाहन्छु । मेरो व्यक्तिगत उपचारको सिलसिला र निजी भ्रमण भएको हुनाले आफूले कुटनीतिक राहदानी (रातो पासपोर्ट) समेतको प्रयोग नगरेको कुरा अवगत गराउन चाहन्छु ।’

अमेरिका भ्रमण पारिवारिक
उनले आफ्नो अमेरिका भ्रमण पारिवारिक भ्रमण भएको बताएका छन् । अमेरिका भ्रमणलाई जबर्जस्ती विवादमा तान्न खोजेको बताएका छन् । अमेरिकाकामा भएको एउटा घटनामा आफू र आफ्नो सहयोगी पारुहाङ राईको नाम जोडेर सनसनीपूर्ण बनाएर गरिएको भ्रमपूर्ण प्रचारबाजीको उनले खण्डन गरेका छन् । त्यस विषयमा आफ्नो कुनै संलग्नता नरहेको उनले स्पष्ट पारेका छन् ।

भ्रमणको लागि कसैसँग आर्थिक सहयोग नमागेको पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारबाजीबाट आफू कति पनि प्रभावित नभएको पनि उनले प्रष्ट्याएका छन् ।