इटहरी: प्रदेश १ सरकारकी सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश १ मा कोरोना संक्रमण न्यूनीकरणका लागि जिल्ला स्तरमा खटिने स्वास्थ्यकर्मीलाई ३ सय प्रतिशतसम्म भत्ताको व्यवस्था गरिने बताएकी छन् ।
उनले कोरोना महामारीको समयमा जिल्ला अस्पतालहरुमा उचित मानवसंसाधन र उपकरणको व्यवस्था नहुँदा धेरैले ज्यान गुमाउनु परेको स्मरण गराउँदै आफ्नो कार्यकालमा प्रदशका १४ वटै जिल्ला अस्पताललाई परिष्कृत गर्ने पनि बताइन् । उनले भौगोलिक क्षेत्र अनुसार चिकित्सकलाई भत्ताको व्यवस्था गरिने बताइन् । पहाड र तराईको तुलनामा हिमालमा काम गर्ने चिकित्सकलाई बढी सेवा सुविधा दिने रणनीति आफूले अघि सारेको उनले बताइन् । यसले दुर्गम क्षेत्रमा खस्किएको स्वास्थ्य संस्थाको स्तरमा सुधार आउने उनको भनाइ छ ।
‘दुई जना विशेषज्ञ डाक्टरहरुको लागि हिमाली जिल्लामा ३ सय प्रतिशत तलब भत्ता वृद्धि गर्ने निणर्य गरेर बजेट नै विनियोजन गरेको अवस्था छ’, मन्त्री राईले भनिन्, ‘त्यसैगरी, पहाडमा २५० प्रतिशतले वृद्धि गरेका छौँ । त्यस्तै तराईमा चाहिँ २०० प्रतिशत्ले तलबभत्ता वृद्धि गरेका छौँ ।’ यसो गर्नले कोरोना महामारी नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीमा सकरात्मक उत्प्रेरण मिल्ने र काममा उत्साह थपिने उनको विश्वास छ । जसले गर्दा हिमाल र पहाडका जिल्लाबाट तराईमा उपचारका लागि आउनुपर्ने बाध्यता हट्नुको साथै लामो दूरीका कारण बाटोमा नै हुनै मृत्युमा कमी आउने उनले बताइन् ।