सोलुखुम्बुः सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरीलाई खोलाले बगाएर बेपत्ता बनाएको छ ।
सोलुदूधकुण्ड–२ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता बनेको प्रहरीले जनाएको छ । सोलुदूधकुण्ड– ८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ हिँडेको बुझिएको सोलुखुम्बु प्रहरीका डिएसपी कवित कटवालले जानकारी दिए । उनका अनुसार शेर्पालाई खोलाले मङ्गलबार दिउँसो बगाएर बेपत्ता बनाएको हो । प्रहरीका अनुसार मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्म बेपत्ता छन् ।
उनको खोजीका लागि ठूलो सङ्ख्यामा जनपथ प्रहरीसहित स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयवासी सक्रिय भए पनि खोला बढेकाले समस्या भएको कटवालको भनाइ छ । गत वर्ष पनि सोही खोला तर्ने क्रममा एक पुरुषलाई बगाएको वडाध्यक्ष मिङमार दोर्जी शेर्पाले बताए । -रासस