विराटनगरः महामारी र विपदको बेलामा मात्र नभएर सेवाबाट बञ्चित भएका र हिंसापीडितहरुका लागि मनोविमर्श सहितको साझा हेल्पलाइन सेवा सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।
महामारी र विपद्को अवस्थामा मात्र नभएर विभिन्न सेवाबाट बञ्चित भएका पीडितहरुलाई न्याय तथा सेवा कहाँ र कसरी पाइन्छ भन्ने सूचना दिन र उनीहरुलाई मनोविर्मश प्रदान गर्नका लागि साझा हेल्पलाइन सेवा अत्याआवश्यक देखिएकोले सञ्चालन गर्न सरकारले चासो दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् । हिजो साझा अधिकारका लागि साझा मञ्च (कोकन) ले कोभिड महामारीका बेला अल्पकालीन रुपमा आफ्नै पहलमा सञ्चालन गरेको हेल्पलाइन सेवा प्रभावकारी पाइएकोेले सरकारले चासो दिएर दीगो रुपमा सञ्चालन गराए सबैले सहज रुपमा प्रभावकारी सेवा प्राप्त गर्न सक्ने सरोकारवालाहरुले सुझाव दिए । अधिवक्त्ता कोषराज न्यौपानेले महामारीको बेला कुन अस्पतालमा कोभिडको उपचार हुन्छ हुँदैन, बेड खाली छ छैन ? भर्ना लिन्छन् लिदैनन ? सरकारले तोकेको सेवा पाइन्छ पाइँदैन ? अरु सिकिस्त बिरामीको उपचार हुन्छ हँुदैन भन्नेबारे सूचना नपाउँदा धेरैले सास्ति व्यहोर्नु परेकोले साझा हेल्पलाइन दीगो रुपले सञ्चालन गराउन सरकारले चासो दिनुपर्नेमा जोड दिए ।
अधिवक्त्ता न्यौपानेले हेल्पलाइनहरुले सेवा प्रदायक संस्था र जिम्मेवार सरकारी निकाय, अधिकारवादी संघसंस्था, पत्रकार, सहयोगदाताजस्ता सबैको ठेगाना र अवस्थाबारे तथ्याङ्क संकलन गरेर सूचना दिने भएकोले पीडितहरुका लागि समन्वयकारी भूमिका खेल्न पनि सहयोग पुर्याउने बताए । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु बर्तौलाले सबै निकायहरुको काम गर्ने तरिका र सीमितता आआफ्नै हुने भएकोले महामारी र विपद्को अवस्थामा मात्र नभएर अन्य अवस्थामा पनि न्याय र सेवा नपाएका पीडितहरुका लागि साझा हेल्पलाइन सेवाबाट सूचना लिन र सेवा प्राप्त गर्न सहयोग पुग्ने बताइन् । बल हेल्पलाइन विराटनगरका संयोजक बासु अधिकारीले कोभिड संक्रमणजस्तो महामारीका बेला सबैका लागि साझा हेल्पलाइनको अभाव अति नै खड्किएको महसुस भएको र यसको अभावमा धेरैले अस्पतालको सेवा लिन दःुख पाउनु परेकोले सरकारले साझा हेल्पलाइन सेवा सञ्चालन गराउन ढिलो गर्न नहुने धारणा राखे । मानव अधिकार रक्षक परिषद् प्रदेश १ संयोजक सोमराज थापाले गैरसकारी क्षेत्रबाट मात्र नभई सरकारको समेत सहभागितामा बाल हेल्पलाइनजस्तै गरेर महामारी, विपद् र अन्य पीडितहरुका लागि दीर्घकालिन रुपमा साझा हेल्पलाइन सञ्चालन भए प्रभावकारी हुने बताए ।
कोसी कोभिड अस्पताल विराटनगरका फोकल पर्सन बैजनाथ साहले मनोविमर्श सहितको साझा हेल्पलाइन सेवा भएमा बिरामीहरु चाँडै निको हुने भएकाले दीर्घकालीन सञ्चालनमा चासो दिन सरकारसँग आग्रह गरे । उनका अनुसार सूचनाको अभावले गर्दा धेरै बिरामीहरु आएर पनि भर्ना पाउन नसक्दा सास्ति पाउनु परेको र भर्ना भएकाहरुले उचित मनोविमर्श सेवा पाउँदा भेन्टिलेटरमा पुगेर पनि निको भएको अवस्था वर्णन गरे । अध्यक्ष तथा मनोविमर्शकर्ता मन्जिता उपाध्यायले दोस्रो महामारी सुरु भएपछि प्रभावकारी सेवाबाट बञ्चित हुन नदिन कोकनले आफैँ पहल लिएर अल्पकालीन हेल्पलाइन सेवा सुरु गरेको र त्यो अति नै प्रभावकारी भएको बताइन । उनका अनुसार सरकारले चासो दिएर उचित प्रचारप्रसार गराउन सके सबै समयमा साझा हेल्पलाइन सेवा फलदायी हुन्छ ।
कोकनले अल्पकालीन रुपमा सञ्चालन गरेको हेल्पलाइन सेवाकी फोकल पर्सन इन्दिरा भट्टराईका अनुसार छोटो समयमा कम प्रचारप्रसार भएपनि हेल्पलाइन सेवाबाट धेरैले प्रभावकारी रुपमा सेवा पाएका छन् । हेल्लाइन सुरु भएको ६ महिनाको अवधिमा झापा , इलाम , मोरङ, सुनसरी , धनकुटा मात्र नभएर मुगु र सिन्धुपाल्चोक गरी कुल ७० पुरुष र २० जना महिलाहरुले सेवा लिएको उनको कथन छ । हेल्पलाइनमार्फत् धेरै अस्पतालबारे बुझिदिनुपर्ने, औषधि र रगत खोजिदिनुपर्ने, सुरक्षित होटलबारे जानकारी दिनुपर्ने, उपचारको अवस्था कस्तो छ भन्नेबारे जानकारी गराउनेदेखि बिरामी, आफन्त र हिंसापीडतहरुलाई फोनमार्फत् मनोविमर्श सेवा दिइएको थियो ।