इटहरीः कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रका स्थानीयले दशकौँदेखि भोग्दै आएको जङ्गली जनावरको आतङ्क अझै साम्य हुन सकेको छैन ।

कोसीटप्पु वन्यजन्तु आरक्ष आसपासका स्थानीयवासी लामो समयदेखि जङ्गली जनावरको शिकार हुँदै आएका छन् । जङ्गली जनावरका कारण सुनसरी, सप्तरी र उदयपुर जिल्लाका स्थानीयले २०३२ सालदेखि सास्ति भोग्दै आएका हुन् । आरक्ष आसपास बस्ने जङ्गली हात्ती, बँदेल र अर्नाका कारण ८ वर्षयता १८ जनाले ज्यान गुमाएका छन् भने ८० घाइते भएका छन् । राज्यले मृतकलाई १० लाख, घाइतेलाई २ लाख र बाली, खाद्यान्नको क्षतिको आधारमा बिगो उपलब्ध गराउँछ । यसरी सरकारबाट राहत पाउने भएपनि यहाँ रहेका जङ्गली जनावरको आतङ्कबाट मुक्ति पाउन दीगो व्यवस्थापन नहुँदा स्थानीय त्रासबीच बाँच्न बाध्य छन् । सरकारले गम्भीरतापूर्वक आफ्ना समस्या नबुझेकै कारण आफूहरु त्रासबीच जीवनयापन गर्न बाध्य रहेको टप्पु आसपासका स्थानीय बताउँछन् । वर्षेनी धनजनको क्षति भएपनि सरकारले आवश्यक ध्यान नदिएको यस क्षेत्रका स्थानीयको गुनासो छ ।

‘हात्ती बिहान, बेलुका जुनबेला पनि आउँछन्’, सुनसरीको कोसीटप्पु क्षेत्रमा बस्दै आएका स्थानीय राजकुमार यादवले भने, ‘सोलार त लगाएको छ तर, त्यो पनि भत्काएर आउँछ । यत्तिकै बसौँ भने धान बाली छ, त्यो नष्ट गरिहाल्छ, धपाउन जाउँ भने ज्यान जाने डर हुन्छ ।’ हात्ती आएको जानकारी दिन टप्पुका कर्मचारीलाई फोन गर्दा नउठाउने, ‘स्वीच अफ’ गरेर बस्ने गरेको उनी गुनासो गर्छन् । ‘हात्ती, अर्ना र बँदेल गरी यहाँ यी तीन वटा जनावर छन् । मान्छे मारेको छ, बालीनाली खत्तम गर्यो,’ सोही ठाउँकी अर्की स्थानीय मनुदेवी यादवले भनिन्, ‘अनि घरको छाना पनि झार्दिन्छ । मलाई पनि सारीमा समातेर तानेको थियो । भागेर बाँचेँ ।’ (मनुदेवीले उनकै मातृभाषमा दिएको बयान हामीले नेपालीमा अनुवाद गरेर राखेका हौँ) हात्तीले यतिका आतंक मच्चाउँदा पनि कसैले नहेरेको भन्दै उनले गुनासो पोखिन् । स्थानीय सरकारका आफैँले चुनेर पठाएका जनप्रतिनिधि आएपछि त यो समस्या समाधान हुन्छ कि भनेर आशा बोकेका उनीहरुको आशा मृगतृष्णामा परिणत भयो । सङ्घीयतापछि सङ्घीय सरकारमा दुई वटा प्रधानमन्त्री भए, स्थानीय सरकार र प्रदेश सरकारमा पनि उनीहरुले जिताएर पठाएका जनप्रतिनिधि अझै छन् तर उनीहरुको यो चित्कार सुनिदिने कोही भएनन् ।

उनीहरुको समस्यामा आफूहरुलाई बजेट कम आउने र ती समस्या समाधान गर्न अपुग हुने तथा यो जिम्मेवारी माथिल्लो सरकारको हो भन्दै स्थानीय सरकारका जनप्रतिनिधि पन्छिने गरेका छन् । यता, माथिल्लो सरकारको समेत यहाँ आँखा पर्न सकेको छैन । ‘हे सरकार ! तपाईँ यो कोसी गाउँपालिकाका जनताको आवाज बुझिदिनुस्’, कोसी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष सुलेमान अन्सारीले भने, ‘अहिले मृतकले १० लाख पाइराख्नुभएको छ, अब यसको लागि २५ लाख घोषणा होस् । घाइतेको कमसेकम १० लाख रुपैयाँ घोषणा होस् ।’ यसका लागि आफूले पहल गर्ने उनले बताए । यस्तो आतङ्क कम गर्न नसकी टप्पु कानमा तेल हालेर भने बसेको छैन । पूर्वतयारी र क्षति कम गर्नकै लागि भनेर सीमा क्षेत्रमा टप्पुले सोलार पिसिङले घेराबार पनि गरेको छ । तर, जङ्गली जनावरहरु टप्पुले लगाएको सो पासो नै तोडेर गाउँ पस्ने गरेका छन् । जसले गर्दा यस क्षेत्रमा वर्षेनी धनजनको क्षति हुने गरेको छ । पर्याप्त जङ्गल क्षेत्र नभएका कारण ती जनावरहरु गाउँ पसेर क्षति पूर्याउने गरेको कोसीटप्पु वन्यजन्तु आरक्षका कर्मचारीहरु बताउँछन् ।

अब जङ्गल क्षेत्रको विस्तार गरेर मात्रै यो समस्याको हल गर्न सकिने टप्पुका संरक्षण अधिकृत अशोक राम बताउँछन् । ‘यसको ज्यान ठूला,े धेरै खानेकुरा चाहियो । ६ हजार किलो ज्यान छ । १८ देखि २० घण्टा खाइरहनुपर्छ’, संरक्षण अधिकृत रामले भने, ‘एउटा हात्तीको लागि मिनिमम् होम रेन्ज (बासस्थान) भनेको १८८ वर्गकिलोमिटर हो । हाम्रो कोसीटप्पुको जम्मा क्षेत्रफल भनेको १७५ वर्गकिलोमिटर हो । अनि हात्ती गाउँ त पसिहाल्छ ।’ यदि बासस्थान विस्तार गर्न नसके आगामी दिनमा यो समस्या झन् बढेर जाने उनी बताउँछन् । आरक्षमा विभिन्न कार्यालयबाट आएका वार्डेन तथा कर्मचारी यही घटनामा कमजोरी देखिएको भन्दै आफ्नो कार्यकालको समयावधि नसकिँदै विभागीय कारबाहिमा पर्ने गर्छन् त कोही आफैँ सरुवा मिलाएर अन्यत्र जान्छन् ।