इटहरीः सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका ८ शुक्रबारेबाट हिजो साँझ ६ः३० बजे एक जनालाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्यअन्तर्गत सुपौल थाना वीरपुर बनेलीपट्टी ३ का २५ वर्षीय रुद्रनारायणकुमार यादव रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार गत ६ गते ब्राउनसुगरसहित पक्राउ परेका मानिसहरुले दिएको सूचनाको आधारमा यादवलाई ब्राउनसुगर ५२ ग्राम र उनले प्रयोग गरेको बीआर ५० के ०३८६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका यादवसँग सोधपुछ गर्दा यसअघि नै पक्राउ परेका पुरुषोत्तम मेहताको घरमा थप ब्राउनसुगर लुकाई राखेको छ भनी खुलाई दिएपश्चात् प्रहरी गई मेहताको घरमा खानतलासी लिँदा थप १७ ग्राम ब्राउनसुगर बरामद भएको एसपी राईले बताए । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।