इटहरीः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुनसरी जिल्लालाई कोरोना संक्रमणको उच्च जोखिम रहेको क्षेत्र अर्थात् रेड जोन घोषित गरेको छ ।

मन्त्रालयले आज जारी गरेको सूचना अनुसार प्रदेश १ सुनसरीसहित मोरङ र झापालाई रेड जोनमा राखिएको हो । मन्त्रालयको नियम अनुसार सक्रिय संक्रमितको संख्या पाँच सय जनाभन्दा बढी भएका जिल्लाहरु रेड जोनका रुपमा घोषित हुन्छन् । मन्त्रालयले प्रदेश २ का कुनै पनि जिल्ला रेड जोनमा नपरेको उल्लेख गरेको छ । उता, बाग्मति प्रदेशका काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक र नुवाकोटलाई पनि रेड जोन घोषित गरेको छ । यसैगरी, गण्डकी प्रदेशका नवलपरासी पूर्व, कास्की, बाग्लुङ, गोरखा, स्याङ्जा र तनहुँ पनि उच्च जोखिमयुक्त क्षेत्र अर्थात् रेड जोनमा परेका छन् ।

234415931_3220889898145832_6728511570492305494_n

लुम्बिनी प्रदेशका दाङ र रुपन्देही तथा कर्णाली प्रदेशको सुर्खेत जिल्ला पनि रेड जोनमा परेको छ । सुदूरपश्चिम प्रदेश भने रेड जोनमा पर्नबाट जोगिएको छ । यसैबीच, कोरोना संक्रमण तिव्र रुपमा विस्तार हुँदै गएपछि सोको न्यूनीकरणका लागि सुनसरी जिल्ला मालपोत कार्यालयको सेवा भदौ १४ गते सम्मका लागि बन्द गरिएको छ । प्रमुख मालपोत अधिकृत, लेखापाल सहितका कर्मचारी र दुई दर्जनभन्दा बढी लेखापढी व्यवसायीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गर्नुपरेको कार्यालये जनाएको छ ।