इटहरीः सुनसरी इटहरी उपमहानगरपालिका २० पानीपियाको जंगलमा कोसी राजमार्गमा धरानबाट इटहरी आउँदै गरेको प्रदेश १ –०२–००१ ख ८४४५ को सेफ्टिट्याङ्कीजडित गाडीले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलपछाडि सवार रहेका मोरङको विराटनगर १४, भट्टिमोडका १८ वर्षीय सफल राजवंशी रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका राजवंशीलाई उपचारार्थ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा उनको दिउँसो १ः०० बजे मृत्यु भएको हो ।
सोही दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक भट्टिमोडकै २२ वर्षीय अविनाश राजवंशीको बीपी प्रतिष्ठानमै उपचार जारी रहेको डीएसपी तिम्सिनाले जानकारी दिए । उनका अनुसार दुर्घटनाबाट मोटरसाइकलमा आगलागीसमेत भएकाले नम्बर खुल्न सकेको छैन । दुर्घटना गराउने गाडीका चालक इटहरी ४ का २८ वर्षीय फूलमान राईलाई गाडीसहित नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।