इटहरीः दक्षिणी भोजपुरको हतुवागढी गाउँपालिकाकी तारा परियार गाउँमा सडक आउँदा अत्यन्तै खुशी थिइन् ।

सडकसँगै शहरी पूर्वाधार आउलान् । पानी नियमित आउला । बत्ती आउला भन्ने आशा थियो परियारको । सडकले गाडी ल्यायो, मधेस र सहरमा मात्रै कुद्ने अटो ल्यायो । सबैभन्दा धेरै धुलो ल्यायो । तर, नियमित पानी र बत्ती भने ल्याएन ।

गाउँपालिकाको वडा नम्बर ८ की दलित महिला सदस्य परियारले नियमित पानी नआउने हुनाले सागसब्जी लगाउन समस्या भएको बताइन् । बत्ती त पानी जत्तिको पनि नआएको परियारको भनाइ छ । उनले भनिन्, ‘बत्ती आउने कुरा धेरै भयो । काम हुन सकेको छैन ।’

हतुवागढी–८ की परियारको मात्रै होइन वडा नम्बर ४ की गृहिणी कालिमाया कार्कीको गुनासो पनि उस्तै छ । उनको घरमा धारा छ । तर, पानी नियमित आउँदैन । धारामा पानी नआएपछि पात्लेपानी धारामा गएर गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता छ कार्कीको । केही दिन अघि डोको बोकेर मुहानमा उभिएकी कार्कीले दुःखेसो गरिन्, ‘पात्लेपानी भनेर के गर्नु पानी नियमित आउँदैन । ऐरेनीको मुहानबाट पानी आउनासाथ बन्द हुन्छ ।’

bhojpurma khanepani dukha  (7)


हतुवागढी गाउँपालिका वडा नम्बर ४ र ८ जस्ता बिजुली नपुगेका क्षेत्रका स्थानीयलाई मात्रै होइन बिजुली पुगेका ठाउँका स्थानीयलाई समेत बिजुलीको भर छैन । हतुवागढी गाउँपालिकाको मुख्य कार्यालय रहेको घोडेटार बजारका स्थानीय सुन्दर श्रेष्ठ र सुनिता श्रेष्ठ केन्द्रीय लाइन भरपर्दो नभएको बताउँछन् ।

घोडेटारमा न्यू सृष्टि भाडा तथा हार्डवेयर पसल सञ्चालन गर्ने श्रेष्ठ दम्पत्ति केन्द्रीय बिजुली पटकपटक गएर समस्या दिने बताउँछन् । सुन्दर श्रेष्ठ भन्छन्, ‘केन्द्रीय लाइन आएर पनि हामीले सोलार नहटाउनुको कारण केन्द्रीय लाइनको भर नभएरै हो ।’ श्रेष्ठजस्तै थुप्रै स्थानीयले गत वर्षबाट केन्द्रीय लाइन आए पनि सोलार हटाएका छैनन् ।

हतुवागढी गाउँपालिकामा थुप्रै वडामा बिजुली पुगेको छैन । साबिक ६ वटा गाविसहरू रानीबास, होम्ताङ, खैराङ, सिन्द्राङ, पात्लेपानी र हसनपुर मिलेर बनेको गाउँपालिकामा विद्युत धेरै क्षेत्रमा पुगेकै छैन । अरु त अरु गाउँपालिका अध्यक्षको क्षेत्र खैराङमै पनि छैन बिजुली ।

bhojpurma khanepani dukha  (10)

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईका अनुसार वडाहरू ४, ५, ६, ७ र ८ मा बिजुली पुगेको छैन । ९ वडा रहेको गाउँपालिकामा अधिकांश वडामा बिजुली पुग्न नसकेको गाउँपालिका अध्यक्ष राईले बताए । उनले भने, ‘पोल गाडिसकिएको छ । १० करोड बजेटमा स्थानीयबाट १ करोड लगानी हुन सकेमा भने बिजुली आउने भनिएको छ ।’ सामुहिक सहकार्यबाट बिजुली ल्याउने कुरा अगाडि बढेको राईले बताए ।

पछिल्लो जनगणनामा २० हजार ४ सय ४ जनसङ्ख्या भएको गाउँपालिकाका सबै वडामा बिजुली पुर्याउन गाउँपालिका लागिरहेको अध्यक्ष राईले बताए । उनले भने, ‘गाउँपालिकाले प्रदेश सरकार र सङ्घीय सरकारसँग बिजुलीको व्यवस्थापनको लागि कसरत गरिरहेको छ ।’

bhojpurma khanepani dukha  (5)

 

bhojpurma khanepani dukha  (6)