इटहरीः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेरुजुले सीमा पार गरेको पाइएको छ । प्रतिष्ठानले जथाभावी खर्च गरेर मितव्ययिता पुर्याउन नसकेका कारण स्वास्थ्य कर्मचारीको तलबसमेत अनुदानबाट खुवाउनुपर्ने अवस्था आएको हो ।
प्रतिष्ठानले गत आर्थिक वर्षमा मात्र २ अर्ब ४२ करोड ३९ लाख रुपैयाँ खर्च गरेको छ । प्रतिष्ठानले गरेको यो खर्चमध्ये तलब, भत्ता र ज्यालादारीमा ७५ प्रतिशत खर्च भएको छ भने बाँकी प्रशासनिक खर्च छ । प्रतिष्ठानलाई नेपाल सरकारले ७७ करोड ४२ लाख अनुदान दिएको थियो भने प्रदेश सरकारबाट अनुदानस्वरुप नै १२ लाख रुपयाँ प्राप्त भएको थियो । प्रतिष्ठानले आन्तरिक स्रोतबाट १ अर्ब ९३ करोड ८४ लाख आय प्राप्त गरेको थियो, जसमध्ये अहिले प्रतिष्ठानसँग २८ करोड रुपैयाँ बराबर मात्र बचत देखिन्छ । खर्चको मितव्ययिता गर्न नसक्दा त्यत्रो ठूलो अस्पतालले वर्षेनी तलब खुवाउनको लागि पनि केन्द्रीय र प्रदेश सरकारको मुख ताक्नुपर्ने बाध्यता रहेको पाइएको छ ।
भ्रष्ट्राचारले चुर्लुम्म डुबेर अख्तियारले आँखा लगाइसकेको प्रतिष्ठानमा पदाधिकारी नै दोषी हुने गरेको कुरा सार्वजनिक भइरहेको छ । प्रतिष्ठानले खरिद गरेका फोटोथेरापी, सीटी स्क्यान लगायतका सामान एक पटक बिग्रेपछि मर्मतसम्भारमा ध्यानसमेत नदिएको पाइएको छ । यी सामानमा लागेको ९ करोड ७२ हजार रुपैयाँ मूल्य बराबरको सम्पत्ति उपलब्धिविहीन भएको पाइएको छ ।
छैन आयव्यय विवरण
प्रतिष्ठानको नियामावली अनुसार कम्पनीको सञ्चालन आयव्यय, बचत तथा सम्पत्तिको विवरण चुस्तदुरुस्त राख्नुपर्नेमा त्यस्तो केही पनि नराखिएको पाइएको छ । महालेखा परीक्षकले गरेको परीक्षणमा डेण्टल, नर्सिङ्ग, एकेडेमी तथा मेडिकल उपकरण विभागमा कुनै पनि हरहिसाब राखिएको पाइएन । यसैगरी, प्रतिष्ठानका विभिन्न ७ कोषहरु रहेकोमा हरेक पर्षको आम्दानीलाई मुल कोषमा दाखिला गर्नुपर्ने नियम भएता पनि गत वर्षको ५ करोड ८५ लाख २३ हजार रुपैयाँमा २ करोड ६० लाख ६१ हजार रुपैयाँ खर्च भएको र बाँकी रकम मूल कोषमा नराखेको पाइएको छ ।
५ महिनासम्म पर्खिनुपर्छ सेवा लिन
अस्पतालले अन्तरङ्ग, बहिरङ्ग तथा अप्रेसन, महिला तथा प्रसूति, नाक कान, घाँटी, न्यूरो सर्जरीजस्ता सेवा लिनको लागि १ महिनादेखि ५ महिना सम्मको पालो कुर्नु परिरहको तथ्यसमेत छ । मेसिन बिग्रेको, भनेको समयमा डाक्टर उपलव्ध नहुने तथा यस्तै अन्य विविध कारण देखाई प्रतिष्ठानले बिरामीलाई लामो समय कुराउने गरेको पाइएको छ । प्रतिष्ठानले कहिले जनशक्ति नभएको, कहिले मेसिनमा समस्या भएको त कहिले अन्य बाहाना देखाई बिरामीलाई कुराउने गरेको छ ।
भाडा बापतको १ करोड ६ लाख रुपैयाँ अझै उठेन
प्रतिष्ठानले विभिन्न फर्म तथा कम्पनीलाई भाडामा लगाएको सटर तथा जग्गाको रकम असुल नगरेको पाइएको छ । विभिन्न २४ फर्मसँग वार्षिक १ करोड ७१ लाख रुपैयाँ बराबर जग्गा तथा घर भाडाको रकम उठ्नुपर्नेमा गत आर्थिक वर्षको लेखा परीक्षण हुँदासम्म ६५ लाख रुपैयाँ मात्र उठेको छ । सम्झौताविपरीत अन्य फर्म तथा व्यक्तिले १ करोड ६ लाख रुपैयाँ अझै प्रतिष्ठानलाई दिएका छैनन् ।
दरबन्दीको आधा मात्र छन् जनशक्ति
बीपी प्रतिष्ठानमा कति डाक्टरको दरबन्दी होला ? झट्ट सुन्दा खासै ठुलो संख्या होलाजस्तो लाग्दैन । तर यहाँ सात सय ६८ चिकित्सक , नौ सय ५८ नर्स र दुई सय ३० जना प्यारामेडिक्सको दरबन्दी रहेको छ । तर दरबन्दी अनुसार न त चिकित्सक छन् न त नर्स र प्यारामेडिक्स नै । हाल प्रतिष्ठानमा ३६१ डाक्टर, ६९६ नर्स र १ सय ४८ प्यारामेडिक्स कार्यरत छन् । दरबन्दी अनुसार कर्मचारी नहँुदा सेवा प्रवाहमा समस्या परेको त छ नै, प्रतिष्ठानको प्रतिष्ठासमेत दिनहु गिर्दै गइरहेको छ ।