इटहरीः मोरङको बेलबारी नगरपालिका–११ स्थित जुरेमा हिजो साँझ एक महिलाको शव फेला परेको छ ।
मृत फेला पर्नेमा बेलबारी–११ की ५८ वर्षीया कविता बुढाथोकी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार परिवारबाट छुट्टिएर एक्लै बस्दै आएकी बुढाथोकी घरनजिकै रहेको मकैबारीमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी हुन् । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेकोमा तत्काल परिचालित प्रहरीले शव पोस्टमार्टमका लागि उर्लाबारीकै मङ्गलबारे अस्पताल पठाई घटनाको अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।
पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र मृत्युको कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ । यसैबीच, केराबारी गाउँपालिका–५ याङ्शिलामा पनि हिजै साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २६ वर्षीया टीकामाया राई (लिम्बू) रहेकी छन् । घरकै शौचालयमा लडेर घाइते भएपछि उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा टीकामायाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।