इटहरीः सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित श्रीलङ्का टापुमा कोसी नदीले गरेको कटानको विषयमा यथार्थ बुझ्नका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले समिति गठन गरेको छ ।

सुनसरी मोरङ सिचाइँ आयोजना प्रमुखको अध्यक्षतामा चार सदस्यीय समिति गठन गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । समितिमा जलस्रोत डिभिजन कार्यालय इनरुवा र भूआर्जन कार्यालयका पदाधिकारी सदस्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । समितिले सम्बन्धित नगरपालिकासँगको समन्वयमा स्थलगत अध्ययन गरेर छिटोभन्दा छिटो प्रतिवेदन तयार गरी जिल्ला प्रशासन कार्यालय सुनसरीमा बुझाउनेछ ।

केही दिनअगाडि मात्र सप्तकोसी नदीमा आएको बाढीले सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ को श्रीलङ्का टापुमा तिव्र कटान गरेको थियो । नगरपालिकाको समन्वयमा समितिले अध्ययन गरी क्षतिपूर्ति र नियन्त्रणका लागि प्रक्रिया अघि बढाउने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ ।