इटहरीः सुनसरीको धरान उपमहानगरपालिकाले आर्थिक वर्ष ०७६÷७७ मा १२ करोड २७ लाख रुपैयाँ नियमभन्दा बाहिर रहेर खर्च गरेको पाइएको छ ।

उपमहानगरको ३ अर्ब ६८ करोड ७५ लाख बराबरको लेखा परीक्षण गर्दा १२ करोड २७ लाख रुपैयाँ बराबरको बेरुजु सार्वजनिक भएको हो । बेरुजुमध्ये ४२ लाख रुपैयाँ बराबरको रकम पेस्की शीर्षकमा खर्च गरिएको छ । सुनसरीको अर्को उपमहानगरपालिका इटहरीमा आर्थिक वर्ष ०७६÷७७ मा ११ करोड १४ लाख रुपैयाँको बेरुजु सार्वजनिक भएको छ । इटहरी उपमहानगरले पेस्की बापतको बेरुजुमा धरानलाई उछिनेको छ । धरानको पेस्की बापतको बेरुजु ४२ लाख रुपैयाँ हुदा इटहरी उपमहानगरको बेरुजु ६१ लाख रुपैयाँ छ । यसैगरी, इटहरी उपमहानरपालिकाले स्थानीय निकायमा समायोजन भई आएका कर्मचारीलाई नियमभन्दा बाहिर गएर १५ लाख ३२ हजार रुपैयाँ भुक्तानी दिएको सार्वजनिक भएको छ । कर्मचारी समायोजन हुनुभन्दा पहिलेको पदमा ५ वर्ष सेवा गरी तहवृद्धिसहित स्थानीय तहमा आएका कर्मचारीलाई ऐनमा व्यवस्था भएको भन्दा फरक गरी तहवृद्धि भएको पदको ग्रेडको समेत समावेस गरी भुक्तानी गरिएको महालेखा परीक्षकको प्रतिवेदनले बताएको छ ।

itr beruju

यसरी सुविधा पाउनेमा इटहरी उपमहानगर अन्तर्गतका २२ जना कर्मचारी रहेका छन् । धरान उपमहानगरपालिकाले बिनाकारण सर्दु पटनली र शेरा खोलाको नदीजन्य पदार्थको बिक्रीवितरणमा बिनाकारण ठेक्का रद्ध गर्दा झण्डै अढाई करोड बराबरको राजश्व गुमाएको विवरण सार्वजनिक भएको छ । बोलकबोल गर्न आउने कम्पनीले २ करोड ४१ लाख रुपैयाँ बराबरको टेण्डर हालेको भएतापनि त्यो टेण्डरलाई रद्ध गरी उपमहानरले अर्को बोलकबोल खुलाएको थियो । अर्को बोलकबोलमा टेण्डर हाल्ने कम्पनीसँग कोभिड १९ को महामारीका कारण ठेक्का सम्झौता हुन नसक्दा अढाई करोड बराबरको राजश्व गुमेको महालेखा परीक्षकले हालै सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । सुरुको बोलकबोलमा ठुलो बोलकबोल रकम राख्ने कम्पनी सम्पर्कमा नआएका कारण उपमहानगरले अर्को बोलकबोल गरेको भएतापनि दोस्रो घटी बोलकवोल गर्ने कम्पनीलाई ठेक्का उपलव्ध नगराउँदा उक्त राजश्व गुमेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

itr beruju1