बेलबारी: मोरङको बेलबारी नगरपालिकाकी उपमेयर एवम् गीतकार तथा कवि तारा पराजुलीको रचना रहेको तीज गीत म्युजिक भिडियोसहित आइतबार बजारमा आउने भएको छ ।
उपमेयर पराजुलीको रचना रहेको उक्त गीतमा अहिलेकी चर्चित गायिका सरु गौतम र गायक आर सी सापकोटाले स्वर दिएका छन् । नेपाली नारीहरुको महान पर्व तीजलाई लक्षित गरेर बजारमा आउन लागेको उक्त गीतको सङ्गीत भीम बी सीले गरेका छन् । यसैगरी, एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् । म्युजिक भिडियोमा अहिलेका चर्चित कलाकारहरु मेक्सम खाती, बिना राउत, सोनी महत, कजिश श्रेष्ठ, लगायतका कलाकारहरुको अभिनय रहेको र उक्त गीतले राम्रोसँग दर्शकको मन जित्ने गायिका सरु गौतमले बताइन् ।
‘नेपाली नारी जगतले सगर्व उल्लासका साथ मनाउने तीज पर्व पछिल्लो समय तडकभडकका कारण अनावश्यक भड्किलो हुँदै गएकोले तीज पर्वको मौलिकता र गरिमा जोगाउन तीज मौलिक र महिलाहरुको स्वतन्त्र र सार्वभौम पर्व बने मात्र यस पर्वको ऐतिहासिक साँस्कृतिक पक्ष जीवित रहने भएकाले सचेतनासँगै मनोरञ्जन पक्षलाई गीतमा समेटिएको (..... गहनापात महँगो साडी चाहिँन्नँ बरु मसिनो मिठो ऋणपान गरि खाइन्नँ बरु झ बरु...) छ’–उपमेयर एवम् गीतकार पराजुलीले भनिन् ।
साथै गीतकार पराजुलीले वर्तमान समयमा चर्चामा रहेका गायकगायिकाहरुे गीतमा स्वर दिएको, संगीत क्षेत्रमा सफल संगीतकारद्वारा संगीतबद्ध भएको र प्रतिभाशाली कलाकारहरुको अभिनय रहेकोले उक्त गीत सफल बन्ने कुरामा आफू विश्वस्त रहेको बताइन् । सबै दर्शक श्रोताहरुलाई उक्त तीज गीतलाई सुनेर हेरेर माया गरिदिन उनले आग्रहसमेत गरिन् । तीज गीत वेभ रेकर्डिङ स्टुडियो अनामनगरले रेकर्डिङ गरेको छ ।