इटहरीः इटहरी उपमहानगरपालिकामा हालका प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो नराखेको पाइएको छ ।

उपमहानगरमा रहेको नगरप्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमको कार्यकक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीको मात्र फोटो राखिएको पाइएको हो । गत असार २८ गते सर्वोच्च अदालतको परमादेशबाट नेपालको प्रधानमन्त्री बनेका देउवाको फोटो उपमहानगरमा नराखिएको पाइएको हो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा हुँदा राष्ट्रपति र प्रधानमन्त्री दुवैको फोटो मेयर र उपमेयर दुवैको कार्यकक्षमा थियो । प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नियुक्तिसँगै बालुवाटरबाट ओली बालकोट फर्किएसँगै राष्ट्रपतिको फोटो एकल बनेको हो । इटहरी उपमहानगरपालिकाको स्थानीय सरकार नेकपा एमालेको नेतृत्वमा रहेको र संघीय सरकार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेकाले आफ्नो सरकार रहेका बेला तत्कालीन प्रधानमन्त्री ओलीको फोटो राखेको इटहरी सरकारले ओलीको बहिर्गमनपछि प्रधानमन्त्री बनेका देउवाको फोटो राख्न इच्छा नदेखाएको हो ।

वर्तमान राष्ट्रपति पनि नेकपा एमालेबाट नै निर्वाचित भएकीले उनको फोटो भने स्थानीय सरकारले नहटाएको हो । २०६२ ६३ को जनआन्दोलनपछि गठित कुनैपनि लोकतान्त्रिक सरकारका प्रधानमन्त्रीले सरकारी कार्यालयमा आफ्नो फोटो राख्न नलगाएको भएपनि ओली प्रधानमन्त्री बनेपछि भने उनले नै आफ्नो र राष्ट्रपति भण्डारीको फोटो हरेक सरकारी कार्यालयमा राख्न लगाएका थिए । राजतन्त्रात्मक शासनकै झल्को दिने परिपाटी दोहोर्याएको भन्दै प्रारम्भमै विवादित बनेको प्रचलनलाई ओली सरकारले आलोचनाका बावजुुद निरन्तरता दिएको थियो । तर, ओलीको सरकार ढलेसँगै उनकै सरकारले सुरु गरेको परम्परा अहिले उनकै पार्टीका स्थानीय सरकारहरुलाई निल्नु न ओकल्नु भएको छ ।