इटहरीः मोरङको विराटनगर महानगरपालिका क्षेत्रभित्रका विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई सो अस्पतालबाट आफ्नो सेटिङ भएको अस्पतालमा पुर्याई कमिसन खाने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका वडा नं.–८ अमरटोल बस्ने बर्ष १८ को प्रद्युम्न राय र सोही ठाउँ बस्ने बर्ष २३ को आनन्दकुमार साह रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए । उनका अनुसार अभियुक्तहरुले “यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन“ भन्ने अफवाह फैल्याई बिरामी तथा आफन्तहरूलाई झुक्यानमा पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधि किन्न बाध्य गराउने गरेको उजुरीका आधारमा उनीहरुलाई प्रहरीले हिजो पक्राउ गरेको हो । दुवै अभियुक्तहरुलाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।