इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकामा अब घरमै बसिबसी कर तिर्न सकिने भएको छ । मोबाइलबाटै सम्पत्ति कर,व्यवसाय कर र बहाल कर तिर्न सकिने भएको हो ।
आज बिहान नगरप्रमुख द्वारिकलाल चौधरीले आफूले तिर्नुपर्ने कर तिरेर करदाता पोर्टलको शुभारम्भ गरे । घुँडाको अपरेसन गरेर घरमै स्वास्थ्यलाभ गरिरहेकी उपप्रमुख लक्ष्मी गौतमले पनि आजै कर भुक्तानी गरेकी छन् । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले इटहरी उपमहानगरपालिकालाई कागजरहित बनाउने अवधारणाअन्र्तगत अनलाइनबाटै करतिर्ने सेवा सुरु गरिएको बताए । उनले आफूहरुले चुनावी घोषणापत्रको ७५ प्रतिशत कार्यावन्यन गरिसकेको दाबी गरे । निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजकला दवाडीले घरबाटै कर तिर्न पाउनु पनि विकासको एउटा महत्वपूर्ण खुड्किलो र पारदर्शिताको अंग रहेको बताइन् । राजश्व प्रशासन शाखा प्रमुख नवीन भटटराईले मोबाइलबाटै कति कर तिर्नुपर्ने छ भनेर हेर्न, लेखाजोखा गर्न र तिरिसकेपछि बिल प्रिन्ट गर्न सकिने बताए । कर भुक्तानी गरेपछि सम्बन्धित ब्यक्तिको इमेलमा बिल आउनेछ । मोबाइलमा तत्काल जानकारी आउनेछ ।
यसरी तिर्न सकिन्छ घरमै बसेर कर
सबैभन्दा सुरुमा इटहरी उपमहानगरपालिकामा करदाताको रुपमा दर्ता हुनुपर्छ । दर्ता हुँदा अनिवार्य रुपमा मोबाइल नम्बर र इमेल ठेगाना उपलब्ध गराउनुपर्छ । त्यसपछि उपमहानगरपालिकाले करदाता संकेत उपलब्ध गराउँछ । इटहरी उपमहानगरपालिकाको वेबसाइट धधध।ष्तबजबचष्mगल।नयख।लउ मा जानुपर्छ । त्यहाँ विद्युतीय सुशासन सेवामा क्लिक गरेपछि करदाता पोर्टल खुल्छ । नगरपालिकाले उपलब्ध गराएको संकेत प्रयोग गरेर आफूलाई त्यहाँ रजिष्टर गर्नुपर्छ । एसएमएस तथा इमेल भेरिफिकेसनपछि युजरनेम र पासवर्ड प्राप्त हुन्छ । त्यही युजरनेम र पासवर्ड प्रयोग गरी संसारको कुनै पनि कुनावाट इसेवा वा खल्ति प्रयोग गरी कर तिर्न सकिन्छ । आफनो व्यक्तिगत विवरण सम्पत्ति विवरण, व्यवसायसम्बन्धी विवरण,बहालको विवरण, कर तिर्नुपर्ने तथा तिरेको विवरण हेर्न सकिने छ ।