इटहरीः रानी–किमाथांका ६ लेन सडक परियोजनाअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ र ९ को सीमामा रहेको ट्याङ्ग्रा खोलामा निर्माणाधीन कल्भर्ट एक वर्षसम्म पनि निर्माण सम्पन्न नहुँदा स्थानीय आन्दोलित बनेका छन् ।

परियोजनाले यो ठाउँको ठेक्का भूमि कन्सट्रक्सन जेभीलाई दिएको छ । गत वैशाखमा नै निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि अहिलेसम्म कल्भर्ट निर्माणले अन्तिम रुप नपाउँदा स्थानीय रुष्ट बनेका हुन् । ‘यहाँका स्थानीयलाई अन्याय भयो’, इटहरीका स्थानीय गजेन्द्र पालुङ्वाले भने, ‘हामीले एक दिन सहने, दुई दिन सहने वा ६ महिनादेखि वर्ष दिनसम्म सहने । कहिलेसम्म यो ज्यादति सहने ? त्यसैले यो चाँडोभन्दा चाँडो निर्माण सम्पन्न हुनुपर्यो ।’ यहाँको कल्भर्ट आधा मात्र निर्माण गरेर छोड्दा सडक दुर्घटना बढ्नुका साथै खोलाको बहाव पनि अनियन्त्रित भई गाउँ पस्ने गरेको स्थानीयको गुनासो छ । आगामी दुई सातासम्म पनि यहाँको निर्माण नसके निर्माण कम्पनीलाई कारबाही गर्ने स्थानीयले चेतावनी दिएका छन् । एक वर्षभन्दा धेरै समय काम सम्पन्न हुन्छ कि भनेर आफूहरुले सहेर बसेको र अब आफ्नो धैर्यताको बाँध टुटेको स्थानीयको भनाइ छ । ‘हामीले प्रतिक्षा धेरै गर्यौँ । एक महिना, दुई महिना, ६ महिना मौ होइन, एक वर्षभन्दा धेरै प्रतिक्षा गर्यौँ’, स्थानीय पालुङ्वाले भने, ‘हामीले त्यति बेलासम्म हिलो धुलो खाएर सह्यौँ । अब हामीलाई असह्य भयो । अबको हप्ता दिनदेखि १५ दिनमा पनि काम सकिएन भने हामी ठेकेदारलाई खोजेर कारबाही गर्छौँ । अब चुप लागेर बस्नेवाला छैनौँ ।’

आफूहरुले यसअघि नै सडक विभागलाई यहाँको वस्तुस्थितिको बारेमा जानकारी गराएको अर्का स्थानीय नन्दु थापाले बताए । तर, पनि अहिलेसम्म काम सम्पन्न नभएकोमा उनले गुनासो गरेका छन् । त्यो समयमा ठेकेदारले एक लेयर हाल्न बाँकी रहेकाले काम सक्ने आश्वासन दिएको तर अहिलेसम्म काम नसकेको उनको भनाइ छ । उनले पनि पालुङ्वाको भनाइमा ऐक्यबद्धता जनाउँदै समयमा नै काम सम्पन्न नभए ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएका छन् । यता, ६ लेन सडक परियोजनाले काम सम्पन्न गर्न निर्देशन दिएपनि समयमा नै काम सम्पन्न गर्न नसकेको स्वीकार गरको छ । परियोजनाका इन्जिनियर दिपेन्द्र दासले गत असारमा नै निर्माण सम्पन्न गर्न निर्देशन दिएपनि विविध कारणले निर्माण सम्पन्न नभएको बताएका छन् । ‘जेठ असारमा नै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीले टार्गेट बनायो । तर यो मन्सुनको कारणले ढिलाई भएको हो । पहिला नै सुरु गर्न ढिलाई गर्यो त्यही भएर अहिलेसम्म पनि नसकिएको हो ।’ उनले १५ दिनभित्र काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएकाले अब समयमा नै काम सम्पन्न हुने बताए ।