इटहरीः दुर्घटनामा परेर मृत्यु भएका विराटनगरका एक पुरुषको शव बुझ्न आफन्त र परिवारका सदस्यले अस्वीकार गरेका छन् ।
रंगेली–विराटनगर सडक खण्डअन्तर्गत विराटनगर महानगरपालिका–७ मा ट्रकको ठक्करबाट बिहीबार राति मृत्यु भएका ५५ वर्षीय जनक बस्नेतको शव बुझ्न परिवारले अस्वीकार गरेको जिल्ला प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार पूर्वबाट उत्तरतर्फ मोडिदै गरेको ना ७ ख ३१३ नम्बरको ट्रकको ठक्करबाट विराटनगर–७ का बस्नेतको मृत्यु भएको हो । दिउँसो २ बजे दुर्घटनामा परी घाइते भएका उनलाई उपचारार्थ विराटनगरको गोल्डेन अस्पताल लगिएकोमा उपचारका क्रममा राति ९ः३५ बजेतिर मृत्यु भएको थियो । प्रहरीले ट्रक चालक काभ्रे घर भएका २८ वर्षीय दीपक श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
ट्रकको ठक्करबाट देव्रे खुट्टा भाँचिएका बस्नेतको उपचारमा लापरबाही गरिएको भन्दै परिवारका सदस्य र आफन्तले मृतकको शव बुझ्न मानिरहेका छैनन् । शव अहिले गोल्डेन अस्पतालमै छ । घाइतेलाई आवश्यक पर्ने रगत डाक्टरले ढिलो मागेको र उपचारमा लापरबाही गरिएको भन्दै शव बुझ्न आफन्त र परिवारका सदस्यले नमानेका हुन् । उनीहरुले राति अस्पतालमा केही बेर होहल्ला पनि गरेका थिए । गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले चिकित्सकले समयमै रगत मागेको भए पनि ढिलो ल्याइएका कारण घाइतेलाई बचाउन नसकिएको बताए । उपचारमा कुनै लापरबाही नभएको उको दाबी छ ।