इटहरीः दोस्रो लहरको कोरोनाको कारण प्रभावित भएको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल ग्ल्याम २०२१’ को फाइनल प्रतिस्पर्धा यही १२ भदौमा आयोजना हुने भएको छ ।
आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भदौ १२ गते ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा आयोजना गर्न लागेको जानकारी दिएको छ । प्रतिस्पर्धामा यो पटक शान्ति मगर लिम्बू, रमिता यादव, शोभा शाही, रंगलक्ष्मी फुयाँल, अन्जना खड्का, बवी शाह, सुनिता श्रेष्ठ, सरिता श्रेष्ठ, उर्मिला कार्की र कल्याणी सुवाललगायत एक दर्जन महिला उपाधिका लागि भिड्दैछन् ।
विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविस्य सुधार्ने उद्देश्य प्रतियोगिताको रहेको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लिकी प्रिति कार्कीले बताइन् । सञ्चारकला, मोटिभेसन, नेतृत्व विकास ड्रेससेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षणसहित अन्तिम स्पर्धाका लागि प्रतियोगी तयार रहेको कार्यक्रम संयोजक आकाश गिरीले बताए । कार्यक्रममा कोरोनाका कारणले रोकिएको ट्यालेन्ट राउण्डसमेत आयोजना हुनेछ । शीर्षसहित विभिन्न आधा दर्जन विजेता छानिने प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरिरहेका छन् ।