इटहरीः धरानका राजनीतिक दलहरुले आफैँले कडा लकडाउन लगाउन गरेको मागमा पुनर्विचार गर्न आग्रह गरेपछि भोलिदेखि धरानमा लागु हुने भनिएको कडा लकडाउन धरान उपमहानगरपालिकाले फिर्ता लिएको छ ।

बिहीबार साँझ ६ः३० बजेसम्म उपमहानगरपालिका कार्यालयमा बसेको राजनीतिक दलहरु, सरोकारवालाहरु र स्थानीय प्रशासन तथा प्रहरी समेतको समीक्षा बैठकले उक्त निर्णय गरेको हो । तीन घण्टा लामो छलफलपछि मेयर तिलक राईले लकडाउनका लागि घोषित अवधिमा धरानमा एमबीबीएस प्रवेश परीक्षा तथा त्रिभूवन विश्वविद्यालयका धरानस्थित आङ्गिक क्याम्पसहरुको परीक्षासमेत सञ्चालन हुने भएकाले पूर्वनिर्णय अनुसार कडा लकडाउन गर्न अनुकुल नहुने देखिएकाले जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञालाई कडाइका साथ पालना गराउने गरी पूर्ण लकडाउन भने फिर्ता लिने निर्णय गर्न उचित हुने बताए ।

उद्योग वाणिज्य संघका साथै यातायात व्यवसायीहरुले पूर्ण लकडाउनको निर्णयमा पुनर्विचार गर्न पटक पटकको छलफलमा आग्रह गर्नुका साथै विरोध प्रदर्शनसमेत भएको उल्लेख गर्दै उनले भने ‘जनताका हितका लागि गर्न लागेको स्वास्थ्य सुरक्षाको उपायलाई उनीहरुबाटै विरोध पनि भएकोले हाललाई पूर्ण लकडाउन गर्ने निर्णय फिर्ता लिइएको हो ।’ यसअघि छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले (नेपाल समुह) र जनता समाजवादीले आफैँले दिएको कडा लकडाउनको सुझावमा पूनविचार गर्न आग्रह गरेको थियो ।