इटहरीः भारतको आग्रा राज्यको यमुना नदी किनारमा भएको विश्व चर्चित ताजमहलको झल्को दिने उदयपुरको प्राकृतिक गन्तव्यमा आगन्तुकहरू बढेका छन् । शाही खोला किनारमा रहेको र ताजमहलकै झल्को दिने यो प्राकृतिक सम्पदालाई धेरैले नेपाली ताजमहल भन्न थालेका छन् । धरानका स्थानीय मोदनाथ पौडेल हालसालै यही ताजमहल हेर्न पुगे ।

गाईघाट–८ मा अवस्थित यो ताजमहल हेर्न जाँदा आफू उत्साहित भएको पौडेलले बताए । उनले भने, ‘कुनै मिस्त्री औजार वा श्रम प्रयोग नभइकन प्राकृतिक रूपमा बनेको यो नेपाली ताजमहल सुन्दर लाग्यो ।’
गाईघाट बजार नजिक रहेको तथा सडक सञ्जाल क्षेत्रमा यो आकर्षक स्थल रहेकाले आफूलाई जान सहज भएको पौडेलले बताए । उनले भने, ‘कुनै बेला गुमनाम यो क्षेत्रमा सप्तकोशीमा पक्की पुल बनेर सडक सञ्जाल जोडिएपछि गाईघाट सुनसरी र अन्य क्षेत्रबाट मजस्तै पर्यटक आउन थालेका छन् ।’

taj mahal pradesh portal  (2)

पौडेलको कुरामा सहमत छिन् ताजमहल भएकै क्षेत्रमा घर भएकी त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरी । उनी सो ताजमहल नगरपालिकाको पर्यटकीय केन्द्र भएको बताउँछिन् । वडा नम्बर ८ को शाही खोला नजिकै भएको यो ताजमहल धेरै पुरानो भएको उपमेयर चौधरीले बताइन् ।

फोनमा कुरा गर्दै उपमेयर चौधरीले भनिन्, ‘कसैले पुरानो दरबार, कसैले बनझाँक्रीको दरबार र कसैले माटोको दरबार भन्छन् । आजकाल सबैले नेपाली ताजमहल भन्छन् ।’ यो ताजमहल धेरै पुरानो भएको पनि उपमेयर चौधरीले बताइन् । उनले भनिन्, ‘स्थानीय पाका व्यक्तिहरूका अनुसार यो ताजमहल १ सय वर्षभन्दा अगाडिदेखि यस्तै थियो ।’

ताजमहललाई प्रवद्र्धन गर्दै स्थानीय सरकार
उदयपुरको मौलिक, प्राचीन र आकर्षक ताजमहलको प्रवद्र्धनमा स्थानीय सरकार जुटेको छ । यसको लागि स्थानीय सरकारले आफ्नो अनलाइनमा प्रमुखताका साथ यसको प्रचार गरिरहेको उपमेयर चौधरी बताउँछिन् ।

गाईघाट बजारबाट राजाबास जाने सडकको पश्चिममा रहेको यो क्षेत्र बजारबाट नजिक भएकाले पनि आफँै प्रचारप्रसारमा सहज भएको उपमेयर बताउँछिन् । वडा कार्यालयमा दैनिक दर्जनौँ नयाँ मान्छे आउने र यो वडा कार्यालय नजिकैको शाही खोला किनारमा भएकाले प्रचारमा स्वतः सहज भएको उनको भनाइ छ । आगामी आर्थिक वर्षमा थप पर्यटकीय प्रवद्र्धनात्मक कार्याक्रमले यो ताजमहलको प्रचार र संरक्षण गरिने स्थानीय सरकारको तयारी छ ।

उदयपुर जिल्लामा मात्रै होइन प्रदेश १ र २ का विभिन्न शहरबाट समेत यो क्षेत्र पायक पर्ने उपमेयर चौधरी बताउँछिन् । उनी भन्छिन्, ‘गाईघाट कटेपछि बेलका हुँदै कोशी पारी पुगेपछि धरान, इटहरी नजिकै छन् । प्रदेश २ का सप्तरी र सिराहा पनि यो क्षेत्रबाट नजिकै छन् । थप प्रचार पुगेपछि ती क्षेत्रबाट थप पर्यटक आउने आशा छ ।’