इटहरीः प्रि ओपन सेसनमा ह्वात्तै बढेको शेयर बजार परिसूचक नेप्सेमा कारोबारको अन्तिममा भने करेक्सन आएको छ ।

परिसूचक प्रि ओपन सेसनमै ३२ सय विन्दुभन्दा माथि पुगेको भएपनि त्यसपछि नियमित बजार सञ्चालन भएपछि सूचक ३२२७ विन्दु आसपाससम्म पुगेको थियो । त्यसपछि भने बजारमा १८.२४ अङ्कले घटको छ । बजार ३२ माथिको एतिहासिक विन्दुमा पुगेको भएपनि अन्तिममा भने ३१८०.७८ विन्दुमा आएर साताको कारोबार टुङ्खिएको छ । साताको अन्तिम दिन बिहीबार २० अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । जीवन र निर्जीवन दुवै बीमा समूहको कारोबारमा राम्रो सुधार आएको छ । अन्य समूहको कारोबारमा पनि राम्रो सुधार छ । करेक्सन हुँदै अघि बढेको बजार थप बलियो र भरपर्दो हुने अनुमान विश्लेषकहरुले गरेका छन् । बजारमा चलखेल गर्ने समूहहरुले हाइड्रोपावर, फाइनान्स तथा विकास बैंक समूहमा चलखेल गरिरहेको बेला बिहीबार भने बीमा समूहमा चलखेल गरेको बुझिएको छ ।

त्यसैले पनि यस समूहको परिसूचक उच्च छ । निर्जीवन र जीवन दुवै बीमा समूहको कारोबार राम्रो छ । कम्पनीहरुले मुनाफा सहितको वित्तीय विवरण सार्वजनिक गरिरहेकाले यसबाट शेयर बजारका लगानीकर्ताहरु थप उत्साहित भएका छन् । यो शेयर बजारको प्रमुख सिजन पनि हो । यतिबेला शेयर होल्ड गर्नेले निकै छोटो अवधिमा लाभांश हात पार्न सक्नेछ । साथै, सिजनका बेला बढेको बजारबाट पूँजीगत लाभ आर्जन गर्ने विषय त छँदैछ । बैंकहरुमा प्रशस्त पैसा हुनु तथा बैंकको ऋण पनि सस्तै ब्याजमा पाइनुले शेयर बजारलाई बढाइरहेको विश्लेषण गरिन्छ । बजारमा नयाँ लगानीकर्ता थपिने क्रम जारी छ । यसले प्राथमिक र दोस्रो बजारमा क्रमशः नयाँ लगानीकर्ता थपिइरहेको पुष्टि हुन्छ । यो दिन २२९ कम्पनीको ३ करोड ९ लाखभन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको छ । समूहगत परिसूचक हेर्ने हो भने १३ मध्ये ५ वटा समूहमा हरियाली देखिएको छ । कारोबारको आधारमा बिहीबार १ अर्ब १६ करोड रुपैयाँभन्दा बढी अरुण काबेली हाइड्रोपावरको भएको छ । यसैगरी, अरुण भ्याली र नेसनल हाइड्रोपावर दोस्रो र तेस्रो स्थानमा छन् ।