इटहरीः हाइड्रोपावर कम्पनीमा अन्धाधुन्ध लगानीकर्ता झुम्मिएपछि बुझेर मात्र लगानी गर्न विद्युत नियमन आयोगले लगानीकर्तालाई सुझाएको छ ।

जलविद्युत क्षेत्रमा नबुझी लगानी बढाउन थालेपछि यो समूहको परिसूचक आकासिएको थियो । विद्युत नियमन आयोगले हाइड्रोपावर कम्पनीहरुमा अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गरेपछि बिहीबार हाइड्रोपावर कम्पनीहरुमा करेक्सन देखिएको छ । नियमन आयोगले बुधबार विज्ञप्ति जारी गर्दै हाइड्रोपावर कम्पनीमा लगानी गर्दा विभिन्न १६ बुँदा अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गरेको थियो । सोपश्चात् बिहीबार लगानीकर्ता प्रोफिट बुकतर्फ लाग्दा हाइड्रोपावर कम्पनीहरुमा करेक्सन देखिएको छ भने पछिल्लो समय कारोबारमा ठूलो हिस्सा राख्दै आएको हाइड्रोपावर कम्पनीका लगानीकर्ता अर्कै क्षेत्रमा मोडिएका छन् ।

विद्युत नियमनको पत्रपछि समग्र नेप्से परिसूचक नै घटेको छ । बिहीबार नेप्से परिसूचक १८.१७ अङ्कले घटेर ३१८०.८६ विन्दुमा झरेको छ भने सेन्सेटिभ परिसूचक पनि ८.३२ अङ्कले घटेको छ । यही सानो सूचनाबाट जलविद्युत लगानी तथा विकास कम्पनी, खानीखोला हाइड्रोपावर र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने ङादी ग्रुप पावरको ८.७६ प्रतिशत र माउन्टेन हाइड्रोको ८.१८ प्रतिशतले घटेको छ । समूहगत परिसूचकमा पनि हाइड्रोपावर उपसमूहको परिसूचक ३.१८ प्रतिशतले घटेको छ ।