विराटनगरः नेकपा (एमाले)का नेता माधवकुमार नेपाल नयाँ पार्टी गठन प्रक्रियामा गएसँगै यसको असर प्रदेश नम्बर–१ मा पनि परेको छ ।
सरकारको नेतृत्व फेरिने विषयमा विभिन्न अडकलबाजी भइरहेका बेला सरकारको नेतृत्व कसले लिने भन्ने तय भइसकेको छैन । यो प्रदेशमा एमाले एक्लैको बहुमत छ । माधव नेपाल समूहका कतिपय सांसद नयाँ पार्टीमा जाने अथवा एमालेमै रहने भन्नेमा प्रष्ट खुलेका छैनन् । एमालेकै नेतृत्वमा सरकार गठनको लागि आफूले मार्गप्रशस्त गर्ने भन्ने मनसायमा मुख्यमन्त्री शेरधन राई रहेका छन् । राईले पार्टी एकता र सहजताको लागि आफूले राजीनामा दिने प्रष्ट गरिसकेका छन् । प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले पार्टी एकता जोगाउन मुख्यमन्त्री राईले राजीनामा दिने जनाउ दिइसकेको बताए । उनले भने, “उहाँले राजीनामा दिन तयार रहेको बताइसक्नुभएको छ । बदलिएको परिस्थितिमा हामी बहुमतमै रहने प्रयासमा हुनेछौँ । यो भए भीम आचार्यको नेतृतवमा नयाँ बहुमतको सरकार गठन हुनसक्छ ।”
कार्कीले काठमाडौंमा नयाँ पार्टी गठन हुन र को नेता, सांसद कता रहने भन्ने तय हुन बाँकी रहेकोले पनि नयाँ सरकार गठनको प्रक्रियामा केही दिन लाग्ने बताए । तर, विगतमा माधव नेपाल समूहमा रहेका प्रदेशका पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरेले भने केन्द्रका अरू नेताहरूजस्तै आफू पार्टी एकताको पक्षमा रहेको अभिव्यक्ति दिएका छन् । उनले पार्टी एकता हुने अवधि टरिनसकेको भन्दै एकताले मात्रै पार्टी मजबुत हुने पक्षमा आफू रहेको बताए । “पार्टी दर्ताको प्रक्रियामा मात्र रहेकोले एकताको संभावना जीवितै देखिन्छ,” उनले भने । यसअघि, सरकार गठनको प्रक्रियामा पार्टीका सचिव भीम आचार्य र शेरधन राईबीच प्रतिस्पर्धा भएको थियो । त्यस बेला आचार्यको नेतृत्वमा नेपाल समूहले ओली पक्षलाई टक्कर दिएको थियो । तर, पछिल्लो समय आचार्य आफैँ पार्टी एकताको पक्षमा विभिन्न वार्ताहरूमा समेत सहभागी हुँदै आएका छन् ।
उनका गतिविधिलाई ओलीसँग नजिक भएको भन्ने बुझिएको र नेपाल समूहमा आफू रहिरहेको भन्ने प्रस्ट सन्देश दिन नसकेको उनी पक्षधर सांसदले नै आरोप लगाउँदै आएका थिए । आचार्यको नेतृत्वमा रहेका कतिपय सांसदले साथ छाडेकोले पनि उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाइने गरेको छ । आचार्यको पछिल्ला गतिविधिलाई नेपाल समूहका प्रभावशाली मानिएका नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र राईले सार्वजनिक रूपमै आलोचना गरेका छन् । ‘आचार्यको नेतृत्व क्षमता कमजोर देखिएको’ भन्दै राईले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । आफ्नो समूहका सांसदलाई साथ राख्न नसकेको आचार्यमाथि आरोप लाग्ने गरेको छ । स्थानीय निर्वाचनताकादेखिकै विवादित छविका कारण आचार्यमाथि उनकै समूहले अविश्वास गर्दै आएको थियो । टिकट वितरणका बेला रकम माग गरिएको भन्ने गम्भीर विवादमा उनी मुछिएका थिए ।
दसैँअगावै नयाँ सरकार: कार्की
प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भने केन्द्रको गठबन्धनको प्रारूपअनुसार नै १ नम्बर प्रदेशमा नयाँ सरकार गठन हुने बताएका छन् । नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धन सरकार बन्नेमा द्विविधा नभएको उनको भनाइ छ । “दसैँअगावै सरकार गठन हुन्छ । नेतृत्वको विषयमा छलफल सुरु भइसकेको छ,” उनले भने । ९३ सदस्यीय १ नम्बर प्रदेशसभामा संसदीय दलको नेता चयनका बेला नेपाल पक्षका २४ सांसदले आचार्यलाई मत दिएका थिए । २६ जनाले शेरधन राईलाई मत हालेका थिए । एमालेमा सभामुखसहित ५१ सांसद छन् ।
पछि केहीले नेपाल समूहबाट कित्ता परिवर्तन गरिसकेका छन् । प्रदेश–१ मा बहुमत सरकार गठन गर्न ४७ सांसदको मत चाहिन्छ । कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टी (जसपा)का तीन, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक÷एक सांसद छन् । कांग्रेस, माओवादी केन्द्र, जसपाका सांसद र नेपाल पक्षका आठ सांसदको साथ रहे १ नम्बर प्रदेशमा नयाँ गठबन्धनको सरकार बन्न सक्छ । -बाह्रखरीबाट