जाशुआ ब्राउडर आफ्नो ‘डुनटपे’ नामक एपको वर्णन गर्दै भन्छन्, “संसारको पहिलो रोबोट वकिल ।” यो रोबोट वकिलले प्रयोगकर्ताहरूलाई कानुनी पत्रहरूको मस्यौदा बनाउन मद्दत गर्छ ।

प्रयोगकर्ताले यसको च्याटबक्समा आफ्नो समस्या बताएपछि यसले सोचेर त्यसका लागि उत्कृष्ट कानुनी बाटो देखाइदिन्छ । “प्रयोगकर्ताहरूले आफ्नो शब्दमा तर्कको पाटोमा टाइप गर्न सक्छन् र मेसिन लर्निङ मोडल भएको सफ्टवेयरले त्यसको सही कानुनी उपाय बताउँछ,” जाशुआ रोबोट वकिलबारे बताउँछन् । २४ वर्षीय आविष्कारक जाशुआको यो कम्पनी क्यालिफोर्नियाको सिलिकन भ्यालीमा अवस्थित छ । तर, यो फार्मको सुरुवात सन् २०१५ मा लन्डनबाट भएको थियो, जब जाशुआ मात्रै १८ वर्षका थिए । आफ्नो आविष्कारको सोचबारे प्रष्ट्याउँदै जाशुआ भन्छन्, “उत्तरी लन्डन हेन्डनको कान्छो किशोर म एक भयानक चालक थिएँ । माध्यमिक विद्यालयमा हुँदै मैले धेरैपटक एकदम महँगो पार्किङ टिकटहरू पाउथेँ, जुन म अफोर्ड पनि गर्न सक्दिन थिएँ ।” हरेकपटक एउटै कागजात कपी पेस्ट गर्नुपर्ने झन्भटबाट मुक्त हुन उनले सफ्टवेयर बनाए । उनले ‘डुनटपे’ एपको पहिलो भर्सन सन् २०१५ मा नै बनाएका थिए, मात्रै आफ्नो परिवारलाई प्रभावित बनाउन तयार पारेका थिए । 

यो एप अहिले लन्डन र अमेरिकामा फैलिसकेको छ । अहिले यसले प्रयोगकर्ताहलाई बिमा रकम दाबी गर्न, पर्यटन भिसा, व्यवसायी र स्थानीय प्रशासनमा उजुरीपत्रलगायत सजिलो बनाएको छ । अब बिदामा जानका लागि आफ्नो पैसा फिर्ता लिन धेरै समय कुर्नै नपर्ने जाशुआको दाबी छ । महामारीमा यसको प्रयोग अझै बढेको पनि उनले दाबी गरे । यो एपको अहिलेसम्म एक लाख ५० हजार पेइङ सब्सक्राइबर भएको बताइएको छ । गत वर्ष अमेरिकन बार एसोसिएसनले यसमा कानुनी पहुँच बढिरहेको भन्दै अवार्ड दिएको थियो । यद्यपि, केहीले भने यसबाट दिइने कानुनी सुझाव त्यति सटिक नभएको बताएका छन् । जम्मा ८० प्रतिशत सफल मुद्दामा ६५ प्रतिशत पार्किङ टिकट हुन् । के रोबोट वकिलको विकासले मानव वकिलहरू अतिक्रमण हुने डरमा छन् त ? भन्ने प्रश्न अहिलेको मुख्य विषय हो ।

यो सफ्टवेयरको प्रयोग गरी कामहरू छिटो गर्न केही वकिलहरू भने खुसी र आतुर छन् । लन्डनस्थित एउटा ल फार्ममा आबद्ध ३६ वर्षीय वकिल स्याली हब्सन यो सफ्टवेयरको विकासमा खुसी छिन् । आपराधिक मामला हेर्ने उनले हालै जटिल हत्या केसमा एआईको प्रयोग गरेकी छिन् । यो मुद्दामा उनले १० हजार कागजातहरू छिटो विश्लेषण गर्नुपर्ने थियो । यो सफ्टवेयरको प्रयोगले मानवले गर्ने समयभन्दा चार हप्तापहिले नै काम पूरा गरिदिएको छ भने प्रक्रियामा खर्च हुने ५० हजार पाउन्ड बचाएको छ । पछिल्लो समय लोकप्रिय यो सफ्टवेयर ५५ देशका ३०० ल फार्महरूले ८० भाषामा प्रयोग गरिरहेका छन् । यसले (रोबोट वकिल)ले मानव वकिलहरूलाई कागजाताहरू मिलाउने र खोज्नेमा मात्रै नभई केसलाई निर्माण गर्न र यससँग सम्बन्धित कानुनी उदाहरणहरू पेस गर्न पनि सहयोग गरिरहेको छ । 

यति मात्रै नभई यसले तपाईंको मुद्दा जित्ने सम्भावना पनि अनुमान गरिदिन्छ, जुन ७० प्रतिशत मिल्न जान्छ । यसले तपाईंलाई आफ्नो केस अघि बढाउने हो वा होइन भन्ने तय गर्न सहयोग गर्छ । एआई (रोबोट वकिल)ले कानुनी पत्र लेख्न र मानव वकिललाई सहयोग गर्न सक्छ भन्ने कुरा प्रमाणित भइसकेको छ । तर, के हामीले कुनै समय रोबोट वकिल अनि न्यायाधीश देख्न सक्छौँ त ? प्रोफेसर सस्किन्डले यदि यसले ९५ प्रतिशत नै काम गर्न सम्भव भयो भने यस्ता मुद्दाहरू थन्किरहेका देशहरूले सजिलै यसलाई प्रयोगमा ल्याउन सक्ने दाबी गरे । -बीबीसीबाट