इटहरीः मोरङको विराटनगरस्थित जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका दुई कैदीहरुको दुई दिनको अवधिमा रहस्यमय मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोरङको रतुवामाई नगरपालिका–५ का ५२ वर्षीय धनबहादुर गुरुङ र सुनसरीको धरानका ३० वर्षीय सुवास लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार जबर्जस्ति करणी मुद्दामा १० वर्ष काराबासको सजाय पाई २०७४ वैशाख ५ गतेदेखि कारागारमा रहेका गुरुङको कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । घाँटीको क्यान्सरबाट लामो समयदेखि पीडित रहेका गुरुङ कोरोना विरुद्धको खोप लगाउनका लागि लाइनमा बसेका बेला बेहोस भएपछि अस्पताल पुर्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको र शव परिवारको जिम्मा लगाइएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

यसैगरी, लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका लिम्बूको स्वासप्रस्वासको समस्याका कारण कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा सोमबार मृत्यु भएको कारागार प्रशासनले बताएको छ भने उनका आफन्तले कारागारमा दिइएको यातनाका कारण मृत्यु भएको जिकीर गरेका छन् । कारागार भित्र कैदीबन्दीलाई यातना दिने गरेको आफन्तको गुनासो छ । कारागार र जिल्ला प्रशासन कार्यालयको ध्यानआकर्षण गराएपनि सुनुवाइ नभएको कैदीबन्दीका एक आफन्तले बताए । कारागारका निमित्त जेलर रामप्रसाद पोख्रेलले भने कारागारभित्र कैदीबन्दीलाई यातना दिइने गरेकोबारे अनभिज्ञता जनाए । दुई सय ५० जनाको क्षमता रहेको कारागारमा ७० महिलासहित नौ सय ३७ कैदीबन्दी रहेकाले समस्या भएको उनको जिकीर छ ।