कोरोना भाइरसको डेल्टा भेरियन्टविरुद्ध पनि खोप प्रभावकारी रहेको देखिएको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप सुरुमा कम प्रभावकारी भए पनि खोप लगाएको चारदेखि पाँच महिनापछि फाइजर–बायोएनटेक जति नै प्रभावकारी हुने अध्ययनले देखाएको हो ।

अक्सफोर्ड विश्वविद्यालय र युकेको राष्ट्रिय तथ्याङ्क कार्यालयले संयुक्त रूपमा कोभिड–१९ हाउसहोल्ड इन्फेक्सन सर्भे गरेको थियो । सात लाख ४३ हजारभन्दा बढी व्यक्तिको २५ लाख परीक्षण नतिजाको अध्ययनबाट खोपको दोस्रो मात्रा लगाएको दुई सातापछि फाइजरको खोप ९३ प्रतिशत र एस्ट्राजेनेकाको खोप ७१ प्रतिशत प्रभावकारी रहेको पाइएको छ । तर समय बित्दै जाँदा फाइजरको प्रभावकारिता कम हुँदै गएको देखिएको थियो भने एस्ट्राजेनेका खोपको प्रभावकारिता उस्तै रहेको पाइएको छ । दुवै खोपले डेल्टाविरुद्ध राम्रो काम गरिरहेको अक्सफोर्ड विश्वविद्यालयकी प्राध्यापक सारा वाकरले बताएकी छिन् ।

यसबाहेक सङ्क्रमित व्यक्तिमा खोप लगाएपछि अझ बढी एन्टिबडीहरू बन्ने, पहिलो र दोस्रो मात्रा खोपबीचको अवधिले खोपको प्रभावकारितालाई फरक नपार्ने तथा वृद्धहरूमा भन्दा युवाहरूमा खोप बढी सुरक्षित हुने अध्ययनको निष्कर्ष रहेको छ । मोडेर्ना खोपको पनि यस सम्बन्धमा यथेष्ट तथ्याङ्क नभएको बताइएको छ । तर अध्ययनकर्ताहरूले मोडेर्ना खोप पनि अन्य खोप जत्तिकै प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । -बीबीसीबाट