धरानः धरान उपमहानगरपालिकाको सर्वदलीय सर्वपक्षीय प्रतिनिधि मण्डलले प्रधानमन्त्रीदेखि अन्य पार्टीका नेताहरूसँग भेटघाट गरी धरानको विकास र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिका विषयमा कुरा राखिएको जनाएको छ ।

आज उमपहानगरपालिका कार्यालयमा पत्रकार भेटघाटको क्रममा गत बुधबार गएको प्रतिनिधिमण्डलले धरानको विकासका विषयमा थुप्रै कुराहरु राखेको जनाइएको छ । धरानको कोरोना संक्रमण दर बढ्दै गएकाले कोरोना विरुद्धको खोप, कोसी राजमार्गअन्तर्गत धरान धनकुटा सडकखण्डको मापदण्ड लगायतका विषयमा कुरा राखेको नगरप्रमुख तिलक राईले बताए । त्यस्तै, धरान–२० भञ्ज्याङ चिण्डेडाँडा हुँदै धरान १३ को जानकी चोक रिङरोडको योजना, सर्दु, सेउती, शेरा खोला करिडोर निर्माणदेखि धरानको खानेपानी आयोजनाका विषयमा कुरा राखिएको र त्यसमा प्रधानमन्त्री तथा अन्य नेताहरूले पनि सकारात्मक पहल गर्ने आश्वासन दिएको उनले बताए ।

प्रतिनिधि मण्डलमा धरानबाट १२ जना र काठमाडौँमा रहेका धराने सांसददेखि बुद्धिजीवीहरु मिलेर धरानको विकास निर्माणदेखि प्रतिष्ठानको बेथितिका विषयमा कुरा राखिएको हो । धरान उपमहानगरले यसका लागि १ लाख १५ हजार रुपैयाँ खर्चसमेत गरेको धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले बताए ।