धरानः सुनसरीको धरानमा भदौ ४ गतेबाट गर्ने घोषणा भएको बन्दाबन्दीमा औषधिबाहेकका सबै पसल पूर्ण रुपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
धरानको नगर कार्यपालिका बैठकले मंगलबार लकडाउन गर्न सिफारिस गरेको आधारमा आज प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बन्दाबन्दीमा औषधि पसलबाहेकका सबै पसल बन्द गरिने बताएका हुन् । उनले दुधजन्य वस्तु पनि ७ बजेसम्ममा बिक्री गरिसक्नुपर्ने जानकारी दिए । सर्वसाधारणलाई हिँडडुल तथा आवतजावतमा पूर्ण निषेध गरिएको सूचना प्रकाशित गरिएको छ । कोसी राजमार्ग भएर चल्ने सवारीसाधानहरुलाई पनि धरान क्षेत्रमा रोकेर यात्रु ओराल्न वा चढाउन पूर्ण रुपमा निषेध गरिएको छ ।
यता, लकडाउनको विरुद्धमा स्वतःस्फूर्त रुपमा धरानका व्यवसायीहरुले प्रदर्शन गरेका छन् । धरान–९ पुतलीलाइनस्थित ज्वाइँ खानाका सञ्चालक हरि श्रेष्ठको संयोजकत्वमा धरानको भानु चौकमा प्रदर्शन गरिएको हो । सामाजिक सञ्जालबाट लकडाउनविरुद्ध सहभागी हुन आह्वान गरिएको थियो । अव्यवस्थित लकडाउनको विरोध अभियान धरानका संयोजक श्रेष्ठले सुरुमा लकडाउनको विकल्प खोज्ने र विकल्प नभएमा मात्र लकडाउन गर्न सरकारको ध्यानाकर्षण गराएको बताए । उनले लकडाउन गरेर श्रमजीवी वर्ग मर्कामा परिरहेको बताए । यसैबीच धरान उपमहानगरपालिकालाई ध्यानाकर्षणपत्र पनि दिइएको थियो ।