इटहरीः इटहरी उपमहानगरपालिमा चार वर्षको अवधिमा १ सय ५ किलोमिटर बाटो कालोपत्रे भएको छ ।

उपमहानगरपालिका भएपछिका जनप्रतिनिधिको कार्यकाल एक वर्ष बाँकी रहदा १ सय ५ किलोमिटर बाटो कालोपत्रे सम्पन्न भएका हुन् । इटहरी उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार अबको एक वर्षमा अरु एक सय किलोमिटर बाटो कालोपत्रे हुनेछन् । उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीका अनुसार इटहरीको गाँउ गाँउका बाटोहरु पिच भएका छन् भने धेरै बाटोहरु धमाधम बन्दैछन् । गत आर्थिक वर्षमा सम्झौता भएका धेरै योजनाहरु सम्पन्न हुने चरणमा छन् ।

itahari pitch2

अघिल्लो वर्ष सुरु भएका ११ वहुवर्षे सडकमध्ये ७ वटा निर्माण सम्पन्न भएका छन् । चार वटा केही लामा सडक दसैँअघि नै निर्माण सक्नेगरी काम भइरहेको छ । आर्थिक वर्ष २०७७ ७८का ४० वटा वहुवर्षे योजनामा पनि धमाधम काम भइरहेको छ । वरिष्ठ इन्जिनियर घिमिरेले सवै प्राविधिक जनशक्ति तिनै निर्माणमा केन्द्रित गरिएकाले दसैँअघि नै काम सम्पन्न हुने विश्वास व्यक्त गरे । गत आर्थिक वर्षमा कोरोनाका कारण समयमा ती योजना सुरु हुन सकेका थिएनन् । गाँउलाई शहरसँग जोड्नेगरी इटहरीका सबै मूलबाटोहरु कालोपत्रे हुने चरणमा छन् । चार वर्षको अवधिमा चार वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् । तीन वटा ठूला पुल निर्माण सुरु भएको छ ।

itahari pitch4

वडाका आफनै भवन निर्माण भइरहेका छन । अबको एक वर्षभित्र १६ वटा वडा आफ्नै कार्यालयमा हुनेछन् । इटहरीका प्रत्येक वडाबाटै वडावासीले सेवा पाउनेछन् । प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन हुँदैछन् । आधारभूत स्वास्थ्य सेवाका लागि अब इटहरीवासीले टाढा धाउनुनपर्ने भएको छ । साविकको खनार, एकम्बा, पकली र हाँसपोसाका बासिन्दाले उपमहानगरवासी भएको अनुभूति गर्न थालेका छन् । यति चाँडै आफनो झुपडीकै अगाडिबाट पिच बाटो हुँदै बजार पुग्न पाइएला भन्ने सोच्दै नसोचेको त्यहाँका बासिन्दाको भनाइ छ । उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले आफनो कार्यकालमा इटहरीका सवै मूल बाटोहरु कालोपत्रे गर्न नसके राजनीतिबाटै सन्यास लिने बताइसकेका छन् ।

itahari pitch1