इटहरीः प्रदेश १ सरकारकी सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशका १४ वटै जिल्ला अस्पतालहरुलाई मजबुत बनाउन प्रदेश सरकार लागिपरेको बताएकी छन् ।
‘हामीले खासगरि हाम्रो प्रदेशका १४ वटै जिल्ला अस्पतालहरुलाई मजबुत बनाउने कार्यक्रम अगाडि बढाइरहेका छौँ’, मन्त्री राईले भनिन्, ‘वेल डेभ्लप्ड, वेल म्यानेज्ड हस्पिटल बनाउनको लागि मैले नै यो कन्सेप्ट अगाडि बढाएकी हुँ ।’ कोरोना संक्रमित भएर उपचार सम्भवन नहुँदा प्रदेशका दुर्गम गाउँबाट काठमाडौँसहित विकसित शहरमा जानुपर्ने बाध्यता रहेको भन्दै मन्त्री राईले अब त्यो बाध्यता हटेर जाने बताइन् । कतिपय ठाउँबाट बिरामी भएर इटहरी, धरान, विराटनगर लगायतका शहरी क्षेत्रका अस्पतालमा आउँदा बाटोमा नै ज्यान गएको घटना स्मरण गराउँदै मन्त्री राईले यसलाई कम गर्न जिल्ला अस्पतालहरु सुव्यवस्थित र विकसित गर्ने अवधारणा अगाडि बढाएको जानकारी दिइन् ।
‘यस्तो अवस्था आउन नदिन अहिले जिल्ला अस्पतालहरुमा अनिवार्य रुपमा अक्सिजन प्लान्ट जडान गर्ने, एचडीयू, आईसीयू र भेन्टिलेटर जडान गर्ने र त्यसका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने काममा हामी लागेका छौँ’, मन्त्री राईले भनिन्, ‘जनशक्ति व्यवस्थापनका लागि हामीले दुई जना मेडिकल डाक्टरहरु पठाएका छौँ । त्योबाहेक दुई जना स्पेसल डाक्टरहरु पनि पठाएका छौँ ।’ तीमध्ये एक जना बालमनोविज्ञान बुझ्ने डाक्टर पठाउने तयारी भएको उनले बताइन् । कोरोना भाइरसको दोश्रो लरह नसकिएको र तेश्रो लहर आउने विश्व स्वास्थ्य संगठनले नै चेतावनी दिएकाले आफूहरु अग्रिम तयारीमा लागेको उनले बताइन् ।
तेश्रो भेरियन्टले बालबालिकालाई बढी प्रभाव पर्ने आँकलन धेरैले गरेकाले त्यही कुरालाई मध्यनजर गर्दै आफूले ‘चाइल्ड डक्टर’ पठाउने तयारी गरेको उनले जानकारी दिइन् । यसबाहेक प्रत्येक जिल्ला अस्पतालहरुमा ६ देखि ७ जनासम्म अन्य चिकित्सकको पनि व्यवस्था गर्ने तयारी भएको उनले जानकारी दिइन् ।