इटहरीः मोरङको बेलबारी नगरपालिका १० भाउन्ने चोकस्थित झापाली होटलबाट नियन्त्रित औषधिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ का २४ वर्षीय रोमन राई, पथरीशनिश्चरे नगरपालिका ४ का २९ वर्षीय अनुप राई र पथरीशनिश्चरे नगरपालिका ४ कै २९ वर्षीय विशाल राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो साँझ ५ः०० बजे प्रहरी चौकी डाँगीहाटबाट खटिएको प्रहरी टोलीले झापाली होटलमा बसेका उनीलाई चेकजाँच गर्दा प्रमाडोल क्याप्सुल ७०० पिस, स्पास्पेन गोटी ७०० पिस फेला पारेको थियो । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।