इटहरीः नेपालको सेयर बजार परिसूचक नेप्सेमा झिनो गिरावट आएपछि परिसूचक रातो भएता पनि कारोबारका हिसाबले मङ्गलबारको बजार पनि हाई हाई नै भएको छ ।

 नेप्से परिसूचक ०.६६ अङ्कले घटेर ३१५९.४२ विन्दुमा अडिएको भएता पनि मङ्गलबार शेयर बजारमा १८ अर्ब २० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यो दिन विशेषगरी विकास बैंक समूह, फाइनान्स र हाइड्रोपावर समूह पनि चम्किएका छन् । उत्पादनमूलक र माइक्रोफाइनान्स समूहमा उत्तिकै उत्साहजनक कारोबार भएको छ । समूहगत परिसूचक हेर्ने हो भने यो दिन ६ समुहको कारोबारमा हरियाली छ भने बाँकी ७ समूहको परिसूचक रातो भएको छ । कम्पनीहरुले भटाभट आफ्नो चौमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेको र बोनससमेत घोषणा गरिरहेको कारण यस सिजनलाई कारोबारको प्रमुख सिजनको रुपमा पनि लिने गरिन्छ । कोरोना महामारीका बीच सूचीकृत कम्पनीहरुले राम्रो मुनाफा सहितको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसलगत्तै कम्पनीहरुले आआफ्नो साधारणसभा बोलाउने र साधारणसभाबाट पारित लाभांश, डिभिडेन्ट तथा हकप्रद शेयर लगानीकर्ताको हातमा पर्ने भएकाले पनि अहिलेको बजार तातेको देखिन्छ । 

लगानीकर्ताले योजनाबद्ध हिसाबले लगानी गर्न सके मात्र नाफाको भागिदार हुन्छन् । तसर्थ कम्पनीको नाफा, रिजर्भ, प्रतिशेयर आम्दानी, पीई अनुपात लगायतका प्रमुख पक्षहरुमा ध्यान दिएर मात्र लगानी गर्नुलाई बुद्धिमानी मानिन्छ । साताको तेस्रो दिन मङ्गलबार २२१ कम्पनीको ३ करोड ६ लाखभन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिन आँसुखोला हाइड्रोपावर, अरुण काबेली जलविद्युत परियोजना, जोशी हाइड्रोपावर कम्पनी, रुरु जलविद्युत कम्पनीलगायत ११ वटा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतभन्दा बढीको वृद्धि भएको छ । ८६ करोड रुपैयाँभन्दा बढीको खरिदबिक्री एकै कम्पनीको भएको छ, जुन अपि पावरको हो । कारोबार रकमका हिसाबले दोस्रो र तेस्रोमा क्रमशः एचआईडीसीएल र अरुण काबेली परेका छन् ।