धरानः धरानमा दश दिन लकडाउन हुने भएको छ । मेयर तिलक राईको अध्यक्षतामा आज (मङ्गलबार) उपमहानगरपालिकामा बसेको कार्यपालिकाको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो ।
हाल विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस धरानमा पनि समुदायस्तरमा नै फैलिरहेको कारण यसको रोकथामका लागि भदौ ४ गते शुक्रबारदेखि १३ गते आइतबारसम्म १० दिन कडाइका साथ लकडाउन गर्ने उपमहानगरपालिकाले निर्णय गरेको छ । यसभन्दा अघि धरानका क्रियाशील राजनीतिक दलहरुले कोरोना संक्रमित र मृत्युदर उच्च भएको भन्दै लकडाउन गर्न संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए । यस्तै, विज्ञहरुले समेत लकडाउन गर्न सुक्राव दिएका थिए । सोमबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको उपस्थितिमा आयोजना गरिएको सर्वदलीय बैठकले धरानमा १० दिन लकडाउन गर्न सिफारिस गरेको थियो ।
लकडाउन अवधिभर प्रहरी प्रशासनसँग समन्वय गरी कडाइका साथ लागु गर्ने र लकडाउनलाई कडाइका साथ कार्यान्यन गर्न सबै वडाका टोल विकास संस्थाहरुसमेत परिचालन गर्ने निर्णय भएको छ । लकडाउनको समयमा औषधि पसल र दुग्धजन्य पदार्थ (पसल नखोली) मात्र बिक्री वितरण गर्न पाइने भएको छ । यस्तै, प्रभावकारी अनुगमनको व्यवस्था मिलाउने, पीसीआर परीक्षण र एन्टिजेन्ट परीक्षणलाई बढाउने, लकडाउन व्यवस्थापन गर्न वडा नं. १४, १५, १६ र १७ का वडाध्यक्षहरुसमेत रहनेगरी एक समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।